लोककल्याणकारी विज्ञापन रोक्ने बोर्डको निर्णयप्रति महासंघको आपत्ति

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १५ : ००
लोककल्याणकारी विज्ञापन रोक्ने बोर्डको निर्णयप्रति महासंघको आपत्ति

काठमाडौँ । छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न विज्ञापन बोर्डलाई नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । छापामाध्यमको हितविरुद्ध हुने निर्णय तत्काल फिर्ता लिई छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न महासंघले ध्यानाकर्षण गराएको हो ।

बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने भनी २०८०।०१।३१ गते सूचना प्रकाशित गरेको थियो ।लोककल्याणकारी विज्ञापनका सम्बन्धमा बोर्डले जारी गरेको यो सूचना आपत्तिजनक र छापामाध्यमको हितविरुद्ध रहेको महासंघले ठहर गरेको हो ।

महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘छापामाध्यमलाई निरन्तर रूपमा दिँदै आएको लोककल्याणकारी विज्ञापन प्रणालीलाई समयअनुसार थप परिमार्जित र व्यवस्थित गर्दै जानुपर्नेमा सूचना प्रकाशन गरेर लोककल्याणकारी विज्ञापन स्थगित गर्ने बोर्डको यो कार्यले छापामाध्यमलाई सशंकित बनाउनुका साथै बोर्डको नियतमाथि नै प्रश्न खडा गरेको छ ।’कोरोना सङ्क्रमणकै कारण हालसमेत विविध समस्याहरू झेलिरहेका छापामाध्यमलाई विभिन्न बहानामा बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशनमा यस्ता व्यवधान खडा गर्दा साना लगानी तथा स्वरोजगारमूलक छापामाध्यमहरू थप धराशायी हुने महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस