पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन

सफल खबर संवाददाता

विहीबार, ०९ चैत्र २०७९, १६ : ३३
पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो । वि.सं. २०१६ सालमा निर्माण भएको सो संसद भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो । 

समितिले सो भवनलाई पुनःनिर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताए ।  त्यस्तै समितिले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुराहरुलाई परिमार्जन गर्न पनि निर्देशन दिइएको बताए ।

उनले भने ‘विशेष गरेर दुईवटा नयाँ पुस्तकालय भवन निर्माण हुँदैछ । त्यसका विषयमा छलफलहरु हामीले पहिलापनि गर्दै आएको हो । र निर्देशन पनि दिइराखेका थियौँ । र त्यहाँ केही विषयहरु मिलेको छैन भनेर भनिएको थियो । त्यो मिलाउनका निमित्त केही नयाँ ढंगले निर्णय पनि भएको रहेछ, व्यवस्थापन भएको रहेछ । आजपनि परिमार्जित गर्न सकिने विषयहरुलाई परिमार्जित गर्नका निमित्त फेरि पनि निर्देशन दिने निर्णय भएको छ । र अर्कोतिर हामीले पुरानो संसद भवन सिंहदरबारभित्रको २०१६ सालमा निर्माण भएको सिंहदरबार भित्रको पुरानो भवन भूकम्पका कारणले केही क्षति भएको छ । यसलाई फेरी पुनर्निमाण होइनकि रेट्रोफिट गरेर फेरि एउटा भवनलाई बचाउनको निमित्त सबैसँग छलफल गरिराखेका छौँ । यो समितिले शहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यूहरुलाई बोलाएर उहाँहरुलाई यही निर्देशन दिएका छौँ ।’

प्रतिक्रिया दिनुहोस