आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्छ : दिनेशकुमार थपलिया

सफल खबर संवाददाता

विहीबार, ०४ फागुन २०७९, १४ : १८
आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्छ : दिनेशकुमार थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताए ।

उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न पाउनुपर्ने बताए ।

उनले कर्मचारी र कैदीबन्दीलाई यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आगामी दिनमा कानून बनाएर आम मतदातालाई दिइनुपर्ने बताउनुभयो । यस्तो व्यवस्था गर्न सकेमा मतदान गर्नेको संख्या बढ्ने उनको भनाई छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले जनअनुमोदित राजनीतिक दलहरुलाई मात्रै सर्वदलीय बैठकहरुमा समावेश गराउने प्रावधान राख्नेगरी आयोगले निर्णय गर्न लागेको बताए ।

उनले जिल्लामा सर्वदलिय बैठक राख्नुपरेमा सो जिल्लामा पार्टीको जिल्ला समितिको विवरण पेस गरेको, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गरेको दलहरुलाई मात्रै बोलाउन आफूले निर्देशन दिएको बताए । उनले दल दर्ता गर्नु उपलब्धि नभएर जनताद्वारा अनुमोदित हुनु र वैद्यता सिर्जना गर्नु ठूलो कुरा भएको बताए ।

उनले आयोगले समावेशिता र लैंगिक समानतालाई अत्याधिक समेटेर निर्वाचन कानून तयार गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस