उपचार सेवा माग्दै बिरामीहरुले गरे प्रदर्शन, राष्ट्रपतिविरुद्ध नाराबाजी

सफल खबर संवाददाता

आइतबार, २९ माघ २०७९, ११ : ०९
उपचार सेवा माग्दै बिरामीहरुले गरे प्रदर्शन, राष्ट्रपतिविरुद्ध नाराबाजी

काठमाडौँ । उपचारमा आएका सर्वसाधारणले वीर अस्पतालमा राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका छन्।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ट्रमा सेन्टरका चिकित्सक कुटिएको विरोधमा डाक्टरहरू आन्दोलनमा उत्रेपछि देशभरको अस्पताल प्रभावित भएको छ।

आन्दोलनका कारण आइतबार उपचारका लागि वीर अस्पताल पुगेका सयौँ बिरामी र आफन्त अलपत्र परेपछि उनीहरूले राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका हुन्।

उनीहरूले अस्पताल अगाडिको मुख्य सडकमै पुगेर राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी गरेर अवरोध गरे। सर्वसाधरणले नाराबाजी गर्दै भने, ‘अस्पताल खोल्नुपर्छ। राष्ट्रपति मुर्दावाद। हामीलाई मार्न पाइँदैन।’

नाराबाजीले गर्दा सडक अवरुद्ध भएको छ। प्रहरीले आन्दोलनकारीहरूलाई सम्झाउने प्रयास गरिरहेको छ।