नारायणी किनारमा हुन लागेको महायज्ञको लागि चरु संकलनलाई तिव्रता

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, ११ : ०८
नारायणी किनारमा हुन लागेको महायज्ञको लागि चरु संकलनलाई तिव्रता

चितवन । साङ्ग–बिराट्–श्री गायत्री कोटि होम ज्ञान महायज्ञको तयारी सँगै चरु संकलनलाई पनि तिव्रता दिइएको छ । एक महिने ज्ञान महायज्ञमा २० हजार किलो भन्दा धेरै चरु आवश्यक पर्ने अनुमान गरिएको छ । महायज्ञभर हवन गर्दा चरु चढाउनुपर्ने हुन्छ । 

चितवन र छिमेकी जिल्लामा पनि चरु संकलन गर्न थालिएको महायज्ञ संयोजक एवम् श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाज कँडेलले जानकारी दिए ।उनका अनुसार भरतपुर महानगरपालिकामा विभिन्न मन्दिर, सत्संग समिति र आमा समूहले चरु संकलन गर्दै छन् ।महायज्ञमा चरु धेरै खर्चिनुपर्ने भएकाले चरु संकलनलाई तिव्रता दिइएको हो । राप्ती नगरपालिकामा मात्रै २१ स्थानबाट चरु संकलन गरिँदै छ । 

‘गैंडाकोटमा पनि महायज्ञको प्रचार प्रसारसँगै चरु संकलन थालिएको छ । चरु संकलनका लागि आमा समूहलाई परिचालन गरिएको छ’, उनले भने । एक जनाले एक माना तिल, आधा माना जौ, आधा माना चामल, घ्यु, सखर वा चिनी दिन सक्ने छन् । साथै वर, पिपल, स्वामी, आँप, डुम्रीका पात लगायत हवन सामग्री पनि संकलन गरिँदै छ । हवन मण्डप निर्माण लगायत महायज्ञको तयारीलाई तिव्रता दिन आज दिउँसो साढे ११ बजे नारायणी नदी किनारमा छलफल हुँदै छ । महायज्ञमाएक करोड ४९ लाख ८५ हजार बत्तिजलाइने उनले बताए । यो महायज्ञमा पित्रृहरुको उद्धारकालागि ससंकल्पपुजा, ग्रहदशा सुधार्न, विवाह तथा व्रतबन्ध जस्ता धार्मिक कार्यहरु पनि गर्न सकिने उनले जानकारी दिए ।

महायज्ञको प्रचारप्रसार गर्न माघ १० गते नारायणगढ र भरतपुरका बजार क्षेत्रमा मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । बजार क्षेत्र परिक्रमा गर्ने मोटरसाइकल ¥यालीमा सहभागी हुन आयोजकले आह्वान पनि गरेको छ । 
माघ १२ गते वसन्त पन्चमीदेखि फागुन १२ गतेसम्म नदी किनारमा हुन लागेको महायज्ञको लागि नारायणगढस्थित नारायणी नदी किनारमा हवन मण्डप र कुण्ड बनाउने काम जारी छ । योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्धारा हवन हुन लागेको हो । ‘यो एक युगमा हुने हवन हो । यसै क्षेत्रमा आरती गर्दै आएको संस्थाले महायज्ञ गर्न लागेको हो । प्रचारप्रसारलाई पनि हामीले तीव्र बनाएका छौँ’, उनले भने । 

श्री सनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा ज्ञानमहायज्ञ हुन लागेको हो । सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्धेश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको कँडेलले जानकारी दिए । नेपालमा कोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम ज्ञान महायज्ञ गर्न लागिएको उनले बताए । 

नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीमहाराजको प्रमुख संरक्षकत्व तथा महामण्डलेश्वर आत्मानन्दगिरी, रमणानन्द गिरी, स्वामी जगन्नाथाचार्य, हरिशरण उपाध्याय, किशोरकुमार गौतम आदि नेपालका प्रमुख सन्तमहात्माहरूको संरक्षकत्वमा महायज्ञ हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस