वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरुले गरे गुरु सम्मान, करिब ४० वर्षपछि गुरुहरूको पहिलो पटक पुनर्मिलन

सफल खबर संवाददाता

शुक्रबार, २२ पुस २०७९, २० : २३
वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरुले गरे गुरु सम्मान, करिब ४० वर्षपछि गुरुहरूको पहिलो पटक पुनर्मिलन

चितवन । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा २०४० सालमा उच्च शिक्षा अध्ययनको आरम्भ गरेका मानविकी सङ्कायका तत्कालीन विद्यार्थीहरुले गुरु सम्मान कार्यक्रमको आयोजना गरेका छन् । करिब ४० वर्षपछि पहिलो पटक पुनर्मिलन कार्यक्रमको आयोजना गरेर आफूहरूलाई भविष्यको बाटो देखाउने उपलब्ध गुरुहरूको माला र दोसल्लाका साथ सम्मान गरिएको थियो । सो अवसरमा सेवानिवृत्त जीवन बिताइरहेका गुरुहरूले विद्यार्थीका साथमा आफ्ना सहकर्मी साथीहरूबिच पनि भेटघाटको अवसर मिलेकोमा खुशी व्यक्त गरेका थिए । 

आफूले नचिने पनि कहीँ कतै भेटहुँदा विद्यार्थीहरूले गर्ने सम्बोधन र गुरु पूर्णिमाका दिन एउटा फोन मात्रैले पनि आफूले गरेको कर्मको सम्मान मिलेको अनुभूति हुनेगरेको अभिव्यक्ति गुरुहरुले व्यक्त गरेका थिए । कार्यक्रममा गुरुहरू विष्णुप्रसाद सापकोटा, भागवतशरण न्यौपाने, भीमराज अधिकारी, गणेशप्रसाद खराल, गायत्री श्रेष्ठ, हेमराज शर्मा, रामनाथ अधिकारी, मोहनसिंह राउत, देवीप्रसाद कँडेल, रामकृष्ण रेग्मी र वर्तमान क्याम्पस प्रमुख दयाराम पौडेलको उपस्थिति थियो । उक्त अवसरमा गुरुहरूले आफ्ना अध्यापनका प्रसङ्गदेखि जीवनका भोगाइसम्मका विषयलाई भावुकताका साथ प्रस्तुत गरेका थिए। 

गुरुसम्मान पछि गुरुहरूकै उपस्थितिमा कार्यक्रमका आयोजक तत्कालीन विद्यार्थीहरूले परिचयका साथ प्रवीणता प्रमाणपत्र तहपछिका अध्ययन, पारिवारिक अवस्था कार्यक्षेत्र अनुभव र अहिलेको बसाइका बारेमा जानकारी गराएका थिए । धेरैजसोको लामो अन्तरालपछिको भेट भएकाले फेरिएको अनुहार चिन्न र चिनाउन हम्मेहम्मे परेपनि भावुकता मिसिएको हार्दिकताको गजबको प्रदर्शन देखिन्थ्यो । पुराना फोटा हेरेर आफैंलाई चिन्न मुस्किल परेका अवस्था, दुख र अभावका बीचमा गरिएका शैक्षिक भ्रमण, पिकनिक लगायतका रमाइला क्षणका सम्झना, क्याम्पस प्राङ्गण र त्यो बेला पढेखेलेका कोठा(चोटाहरू साथीहरूसँगै हिँडडुल गर्दा शब्दले वर्णन गर्न नसकिने भावुकता छचल्किएको मित्रमिलन आयोजकहरूमा देखिन्थ्यो । 

सहपाठीहरू मध्येका जेष्ठ सदस्य विष्णुहरि तिमिल्सेनाको सभापतित्वमा भएको पुनर्मिलन तथा गुरुसम्मान कार्यक्रममा निर्मल सापकोटाले स्वागत मन्तव्य  र  सञ्चालन कृष्ण पुरीले गरेका थिए। कार्यक्रममा ५ जना महिलासहित ३३ जना सहपाठीहरूको सहभागिता थियो । त्यसैगरी वीरेन्द्र क्याम्पस अल्मुनाइ एसोसिएसनका अध्यक्ष बाबुराम घिमिरे र सचिव वामदेव घिमिरेको पनि उपस्थिति थियो । 

कार्यक्रम पछि पुनर्मिलनलाई निरन्तरता दिन विष्णुहरि तिमिल्सेनाको संयोजकत्वमा कृष्ण पुरी सचिव र निर्मल सापकोटा, हरिश्चन्द्र घिमिरे, रामनाथ घिमिरे, शिवप्रसाद अधिकारी, गीता पोख्रेल, शशी पिया, दयानिधि घिमिरे, उमानाथ सापकोटा र कृष्ण देवकोटा सदस्य रहेको एक समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस