नारायणगढ रोटरी क्लबद्वारा देवघाटका बृद्धाहरूलाई खाद्यान्न सहयोग

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १४ : २०
नारायणगढ रोटरी क्लबद्वारा देवघाटका बृद्धाहरूलाई खाद्यान्न सहयोग

चितवन । नारायणगढ रोटरी क्लबद्वारा देवघाट समाज कल्याण केन्द्र, देवघाट, तनहुँमा आश्रित बत्तीस जना बृद्धबृद्धाहरूको लागि आवश्यक खाद्यान्न तथा कपडाहरू सहयोग गरेको छ । क्लबका अध्यक्ष रोटरियन नगेन्द्रबहादुर श्रेष्ठले देवघाट, तनहूँमा अवस्थित उक्त केन्द्रमा एक कार्यक्रम बिच कपडा तथा खाद्यान्न सामाग्रीहरू उक्त कार्यक्रमका प्रमुख अतिथि तथा देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाहस्ते बृद्धबृद्धाहरुलाई हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा मन्तव्यको क्रममा प्रमुख अतिथि तिलबहादुर थापाले नारायणगढ रोटरीले देवघाटका विभिन्न क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य र खानेपानीको लागि समेत सहयोग गर्दै आइरहेको बताए । सोही अवसरमा उनले सहयोगी संस्था नारायणगढ रोटरी क्लबलाई धन्यवाद दिँदै आगामी दिनहरूमा देवघाट गाउँपालिकासँग समन्वय गरेर सामाजिक विकासका थप कार्यक्रमहरू गर्ने बताए । आश्रमका बृद्धबृद्धाहरुलाई दाल, चामल, आँटा, आलु, तेल, साबुन, सरफ, फिनेल, मसला, खाद्यान्न सामाग्रीहरू सँगसँगै लत्ताकपडा गरी करिब बाउन्न हजार रुपैयाँ बराबरको सहयोग गरिएको उक्त कार्यक्रमका संयोजक तथा क्लबका पूर्व अध्यक्ष रोटरियन रोहितकुमार श्रेष्ठले जानकारी दिए । 

नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले दीनदुःखीहरू र अप्ठ्यारोमा परेकाहरूलाई क्लबको स्थापनाकालदेखि धेरै ठाउँमा सहयोग गर्दै आएको बताउँदै नारायणगढ रोटरी क्लब परोपकारी सेवामुलक संस्था भएकोले पवित्र स्थल देवघाटमा रहेको बृद्धबृद्धा आमाबुवाहरूलाई केही खाद्यान्न सामाग्रीहरू हस्तान्तरण गरिएको बताए । कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्षहरू लगायत सदस्यहरूको उपस्थिति रहेको थियोे । 

प्रतिक्रिया दिनुहोस