अमेरिकी सभामुख पलोसी ताइवान गएमा सैन्य कारवाही गर्ने चीनको चेतावनी

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १५ : २५
अमेरिकी सभामुख पलोसी ताइवान गएमा सैन्य कारवाही गर्ने चीनको चेतावनी

काठमाडाैँ। अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पलोसी ताइवान जाने भएपछि चीनले सैन्य कारवाहीको चेतावनी दिएको छ । राष्ट्रपति जो बाइडनको प्रशासनका सदस्यहरूलाई व्यक्तिगत रूपमा यी चेतावनी दिइएको फाइनास्नियल टाइम्सले खबर दिएको छ । विगतमा अमेरिकाले चीनलाई मन नपर्ने कुनै गतिविधि गर्दा चीनले शाब्दिक प्रतिक्रिया मात्र दिने गरेकोमा यसपालि भौतिक कारवाहीकै कुरा झिकेको हो । 

पलोसी अगस्ट महिनामा ताइवान जान खोज्दैछिन् । उनी त्यहाँ गइन् भने अमेरिकी सभामुखले सन् १९९७ मा गरेको भ्रमणपछिको पहिलो घटना हुनेछ । पलोसी ताइवान गएमा त्यो एक चीन नीतिको उल्लंघन हुने चिनियाँ अधिकारीहरूको भनाइ छ । शुक्रवार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले कठोर प्रतिक्रिया दिइने र आफूहरूले भनेको कुरा गरेर देखाउने बताएका छन् । 

अमेरिकाको रक्षा मन्त्रालय पनि पलोसीको ताइवान भ्रमणको पक्षमा छैन । गत साता बाइडनले पलोसीको भ्रमणमा पेन्टागन अनिच्छुक रहेको बताएका थिए । 

पलोसीले चाहिँ पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपतिले आफूलाई भेटेर चिन्ता व्यक्त नगरेको बताइन् । ‘हाम्रो विमानलाई चिनियाँहरूले गोली हानेर खसाउने वा अर्को कुनै कारवाही गर्ने सम्भावना रहेको भनी हाम्रो सेना डराएको कुरा मात्र राष्ट्रपतिले भन्नुभएको हो,’ उनले बताइन् । 

चीनले कोरा धम्की मात्र दिएको हो कि साँच्चिकै सैन्य कारवाही गर्छ भनी अमेरिकी अधिकारीहरूले विचार गरिरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस