विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई नेकपा सचिवालयद्वारा अनुमोदन

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, ११ : ४१

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई सचिवालयले अनुमोदन गरेको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्य कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘अध्यक्षद्वयले अन्य नेताहरुसँगको सल्लाहबिना कार्यदल गठन गरेको भन्दै पार्टीका अन्य शीर्ष नेताहरुले असन्तुष्टि जनाएपछि सचिवालय बैठकबाट त्यसलाई अनुमोदन गरिएको छ । ‘पार्टीको समस्या समाधानका लागि दुई अध्यक्षले आफ्नो सहयोगका निम्ति कार्यदल गठन गर्ने पाउँदैनन् भन्ने होइन तर कार्यदललाई अझै उत्साहित ढंगले काम गर्ने बनाउनका लागि यसलाई सचिवालयबाट अनुमोदन गराउनुपर्छ भन्ने मत पनि थियो । आजको बैठकले अध्यक्षद्वयको पहललाई सकारात्मक रुपमा लिँदै बैठकले  कार्यदल गठनलाई अनुमोदन गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । अध्यक्षद्वयले कार्यदल बनाएपनि वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस