एक महिनापछि नेकपा सचिवालय बैठक आज बस्दैं, के निर्णय गरिदैंछ ?

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, ०९ : ०१
एक महिनापछि नेकपा सचिवालय बैठक आज बस्दैं, के निर्णय गरिदैंछ ?

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी भित्र देखा परेको विवाद समाधान उन्मुख हुदै गएपछि सचिवालय बैठक आज बस्न लागेको हो । 

गत शुक्रबार पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले विवाद सल्टाउन प्रस्ताव तयार पार्न महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेपछि त्यसको गठन प्रक्रिया नमिलेको सचिवालयका तीन नेताले प्रश्न उठाएपछि अनुमोदनका लागि सचिवालय बैठक बस्न लागेको हो । ‘दुई अध्यक्षले सहमतिमा गठन गरेको कार्यदल पार्टी कमिटिले चिन्दैनथ्यो, त्यसलाई पार्टी कमिटिबाट औपचारिकता दिनका लागि सचिवालय बैठक बस्न लागेको हो’, वरिष्ठ नेता खनालले भने,–‘बैठकले कार्यदललाई कार्यदेश पनि दिनेछ ।’

कार्यदलमा शंकर पोखरेल, पम्फा भुषाल, जर्नादन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् । दुई दिन यता कार्यदलको बैठक भैंसेपाटीमा बसिरहेको छ । आईतबार पनि झण्डै ९ घण्टा कार्यदलको बैठक बसेको थियो ।  गत साउन ३ यता नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन् । पार्टीको अवरुद्ध रहेको स्थायी समिति बैठकमा असार १६ मा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्दय झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको दुवै पदबाट राजीनामा माग गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

विवाद समाधानका लागि अध्यक्ष ओलीले साउन ३ को सचिवालय बैठकमा मंसिरमै महाधिवेशन गर्ने गरी अर्ली महाधिवशेनको प्रस्ताव ल्याएपछि त्यसमा छलफल भएर ठोस कार्ययोजना दुई अध्यक्षले छलफल गरी सचिवलाय बैठकमा ल्याउने र त्यस पछि स्थायी समिति बैठकमा प्रस्ताव लैजाने गरी टुंग्गिएको थियो ।  सचिवालयमा भएको उक्त छलफल अनुसार अर्ली महाधिवेशन सम्भव नभएको र जारी स्थायी समिति बैठकका एजेण्डामा छलफल गरेर जानुपर्ने पक्षमा अध्यक्ष प्रचण्ड लगायत नेताहरु थिए । 

सचिवालय बैठक बोलाउनुपर्नेमा ओली र स्थायी समिति बैठक बोलाउनु पर्नेमा प्रचण्ड बीच सहमति जुट्न नसक्दा १३ साउनयता नेकपा स्थायी समिति बैठक पनि अवरुद्द हुदै आएको थियो । तर गत बिहीबार र शुक्रबार दुई अध्यक्षका बीचमा भएको छलफलले विवाद सल्टाउन ६ सदस्यीय कार्यदल बनाउने र त्यसले ल्याउने प्रस्तावमा टेकेर सचिवालय हुदै स्थायी समिति बैठक राखेर महाधिवेशन केन्द्रीत भएर जाने रोडम्याप बनेपछि नेकपा विवाद समाधान उन्मुख देखिन थालेको हो ।

तर दुई अध्यक्षले सहमतिमा बनाएको कार्यदल प्रक्रियागत रुपमा गठन विधि नमिलेको प्रश्न सचिवालयका तीन सदस्य वरिष्ठ नेतात्रय नेपाल र खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले उठाएका थिए । शनिवार तीन नेताले अध्यक्ष प्रचण्डलाई भेटी सचिवालय बैठकवाट कार्यदल बनाउदा राम्रो हुने भन्दै कमिटिगत रुपमा कार्यदल गठनको औपचारिक निर्णय लिन सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए ।  

दुई अध्यक्षले मात्र सहमतिमा गठन गरेको कार्यदललाई पार्टीले नचिन्ने भन्दै प्रश्न उठाएपछि प्रचण्डले सचिवालय बैठक बोलाउने जानकारी नेताहरुलाई दिएका थिए । कार्यदल गठन गर्दा सचिवालयबाटै गराउदा राम्रो हुन्थ्यो, तर त्यत्तातिर ध्यान दिन सकिएन, तर तपाईहरुको सुझावका आधारमा सचिवालय बैठक बोलाइन्छ, प्रचण्डले नेताहरुसँग भनेका थिए । त्यही आधारमा आज बिहान सचिवालय बैठक वस्न लागेको हो । नेताहरुलाई बैठकको जानकारी दिंदा समसामायिक विषयमा छलफलका लागि सचिवालय बैठक बोलाइएको जानकारी गराईएको छ । 
 

प्रतिक्रिया दिनुहोस