नेकपा सचिवालयको बैठक आज बस्दै : महत्वपूर्ण निर्णय लिन सक्ने

सफल खबर संवाददाता

बुधबार, १४ फागुन २०७६, ०९ : ०३
नेकपा सचिवालयको बैठक आज बस्दै : महत्वपूर्ण निर्णय लिन सक्ने

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ वजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाईएको छ । नेताहरुले समसामयिक विषयमा छलफलका लागि सचिवालय बैठक बोलाइएको बताएपनि बैठकका एजेण्डाका बारेमा केही बताएका छैनन् ।

‘समसामायिक विषयमा छलफल होलान्, अहिले पार्टीभित्र देखा परेका सबै विषयमा छलफल हुनेछन्,’बरिष्ठ नेता झलनाथ खनालले भने । नेकपाको केन्द्रीय समिति बैठकले गत माघ १९ गते १५ दिनभित्र पार्टी एकताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएको थियो । तर त्यो प्रतिबद्धता पनि काम नलागेको भन्दै फेरि केन्द्रीय नेताहरुले नेतृत्वको आलोचना थालेका छन् ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताका विषयमा अध्ययन गर्न नै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदलले ९ फागुनमा आफ्नो प्रतिवेदन अध्यक्षद्धयलाई बुझाएको थियो । शनिबार बसेको सचिवालय बैठकमा संयोजक खनालले एमसीसी सम्झौताका बेलिबिस्तार अध्ययन गरी तयार पारेको कार्यदलको रिपोर्टको निश्र्कष बैठकमा ब्रिफिङ समेत गरेका थिए ।

यस विषयमा नेताहरुलाई प्रतिवेदन अध्ययनका लागि दिएपछि पछि बस्ने सचिवालयले निर्णय लिने बताईएको थियो । यो विषय पनि आजको नेकपाको सचिवालय बैठकमा छलफल हुनेछ । ‘सकभर एमसिसि सम्झौताका विषयमा पार्टीले एउटा निर्णय लिन्छ होला आज’ सचिवालयका एक सदस्यले बताए । त्यसका अतिरिक्त नेकपाभित्र संविधान संसोधनका विषयमा चलेको पछिल्लो छलफल र सचिवालयले बनाएको कार्यदल गोप्य राख्न गरेको निर्णय सञ्चारमाध्यममा बाहिरिएको विषयमा पनि नेताहरुका बीचमा छलफल हुनेछ ।

सचिवालय बैठक अगाडी नेताहरुले यसको तयारीका विषयमा पनि घनीभूत छलफल गरेका छन् । पार्टीका दुई अध्यक्षका बीचमा बालुवाटारमा हिजो छलफल भएको थियो । त्यसपछि पनि महासचिव विष्णु पौडेल र वामदेव गौतमका बीचमा पनि छलफल भएको थियो । साँझ प्रचण्ड निवासमा पनि केही शीर्ष नेताहरुका बीचमा छलफल भएको थियो ।

माधव नेपाल र प्रधानमन्त्री ओलीकै बीचमा पनि हिजो दुई पटक गरी लामो छलफल भएको छ । नेताहरुका बीचमा भएको द्धिपक्षिय, त्रिपक्षिय छलफल पछि आज सचिवालय बैठक बस्न लागेकोले नेकपाको यो सचिवालय बैठक महत्वपूर्ण हुन सक्ने र यसले सोही अनुसारको निर्णय लिन सक्ने नेताहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस