लेडको प्रयोगमा प्रतिबन्ध लगाउन माग

सफल खबर संवाददाता

शनिबार, १० कार्तिक २०७५, १५ : ५७
लेडको प्रयोगमा प्रतिबन्ध लगाउन माग

 

भरतपुर । रंग, खेलौना र सौन्दर्यका सामग्रीहरुमा अत्यधिक लेड (सीसा) फेला परेको भन्दै जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सीपेड) ले लेडको प्रयोगमा प्रतिबन्ध लगाउन माग गरेको छ ।
विभिन्न ठाउँमा लेडको विषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह मनाउँदै जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सीपेड) चितवन आइपुगेको छ । कात्तिक ४ गतेदेखि सप्ताह सचेतना कार्यक्रम १० गतेसम्म चलेको थियो । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सीपेड) ले भरतपुरमा सरोकारवालासँग कार्यशाला गोष्ठी आयोजना गरी अन्तर्राष्ट्रिय सचेतना सप्ताह मनाएको हो ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक एवम् वातावरण वैज्ञानिक राम चरित्र शाहले लेडयुक्त रंगहरु उत्पादन भइरहेको हुनाले यसलाई रोक लगाउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘लेडयुक्त कस्मेटिक सामग्री, रंग र खेलौनाहरु भित्रिरहेको हुनाले यसलाई प्रतिबन्ध लगाउनु पर्छ ।’
उनले कार्यपत्र प्रस्तुत गर्दै पेन्ट्स उद्योगीहरुले आफ्नो पेन्ट्समा लेडको मात्रा घटाउँदै नेपाल सरकारले तोकेको लेडको मापदण्ड ९० पीपीएमभन्दा नबढ्ने गरी पूर्ण परिपालना गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पेन्ट डिलर एवम् खुद्रा व्यावसायीहरुले पनि सुरक्षित पेन्टसहरु मात्र बिक्री गर्नुपर्छ ।’ उहाँका अनुसार सुरक्षित पेन्टस्हरु मात्र बिक्री वितरण गर्नुपर्ने, उपभोक्ताहरुले बजारमा लेड नमिसाइएको लोगो अंकित पेन्टहरु मात्र खरिद गर्नुपर्छ ।
उहाँले नेपाल सरकारले बनाएको मापदण्डसमेत पूरा नगरी रंग र खेलौनाहरुमा लेडको प्रयोग मापदण्डभन्दा बढी रहेको फेला परेको हुनाले लेडयुक्त चीजबीजको प्रतिबन्ध नै लगाउनु पर्ने बताउनु भयो । लेड एक प्रकारको रसायन हो, जसले मानिसको स्वास्थ्यमा भयावह एवम् स्थायी किसिमका नकारात्मक असर पार्छ ।
गोष्ठीमा उहाँले नेपाल सरकारले रंगहरुमा तोकेको मापदण्डको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पेन्टस्हरुमा नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी लेड फेला परेको छ ।’
गोष्ठीका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले विज्ञानको विकाससँगै विनाश पनि आइरहेको हुनाले स्वास्थ्यप्रति सबै सचेत हुनुपर्ने बताउनु भयो । निजी अस्पताल समन्वय समितिका महासचिव विक्रम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा भन्सार विभागका निर्देशक मनोजनिधी वाग्लेले लेडको नेपालको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
लेडले एउटालाई मात्र असर नगरी धेरैलाई असर गर्ने उहाँको भनाइ थियो । नेपाल सरकारले लेडको न्यूनीकरणमा विभिन्न योजनाहरु ल्याइरहेको बताउनु भयो । उहाँले लेडको खतरा मानवस्वास्थ्यमा बढी हुने बताउनु भयो ।
कार्यक्रममा भरतपुर महानगरका जनस्वास्थ्य शाखा प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठकलगायतले मन्तव्य लेडबाट सुरक्षित रहन सबैलाई आग्रह गर्नु भएको थियो ।
गोष्ठीमा विराज पेन्टस् भरतपुरका प्रबन्ध निर्देशक राजु ढुंगानाले चितवन जिल्लामा उत्पादित रंगहरुमा लेडको मात्रा अत्याधिक नरहेको बताउनु भएको थियो । उहाँका अनुसार बाहिरबाट आयात भएका अत्यधिक लिड भएका कस्मेटिक सामग्रीहरु कुनै जाँच नगरी बिक्री भइरहेको छ ।

लेड (सीसा) को असर के के हुन्छ ?
लेडको असरले स्नायु  प्रणाली, रक्त कोशिका, श्वासप्रश्वास प्रणाली, पाचन प्रणाली, मुत्र प्रणाली आदिमा गम्भीर असर पर्छ । लेडले विश्वका कुल रोगमध्ये झन्डै शुन्य दशमलव ६ प्रतिशत रोग निम्त्याउँछ ।
लेडको विषबाट बर्सेनि विश्वमा आठ लाख ५३ हजार मानिसको मृत्यु हुने गरेको छ । धातुमा खिया लाग्न नदिन तथा रंगलाई बढी चम्किलो बनाउन लेडको प्रयोग हुने गरेको छ । चिकित्सकका अनुसार लेडको प्रयोगले छाला, हृदयघात जस्ता रोगहरु लाग्छ ।
कस्मेटिक सामग्रीमा २० पीपीएम लेड राख्न अनुमति दिइएपनि विभिन्न ब्रान्डले मापदण्डभन्दा धेरै मात्रामा यसको प्रयोग गर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । यसरी बढी मात्रामा प्रयोग गरिएको लेडले विशेषगरी गर्भवती र बालबच्चामा बढी असर गरेको पनि विभिन्न अध्ययनहरूले देखाएको छ । गर्भवतीले यस्ता सामग्रीको प्रयोग गर्दा गर्भनाल र दूध ग्रन्थिमार्फत् प्रवाह हुने र भु्रण विकासलाई असर गर्ने भएकाले गर्भवती र दूध चुसाउने महिलाका लागि लेड बढी हानिकारक हुने चिकित्सकहरुको भनाइ छ ।
लेड एक प्रकारको धातु हो, जुन मानव शरीरका लागि अति नै हानिकारक बस्तु हो । लेड मानव शरीरमा प्रवेश गरेपछि यसको सकारात्मक पक्ष केही पनि नहुने बताइन्छ । यसले मानव स्वास्थ्यमा मात्रै विषको रुपमा काम गर्ने चिकित्सकहरू बताउँछन् ।
घरमा लगाइएको रंगको धुलो बच्चाहरुको शरीरमा सजिलै प्रवेश गर्ने भएको हुनाले बच्चाहरुलाई स्वास्थ्य स्थितिमा नकरात्मक असर गर्दछ । बच्चाहरुले खेल्ने खेलौनामा पनि रंगीन हुनाले रंगमा लेडको मात्रा नियन्त्रण गर्नु अति जरुरी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस