कृषि विश्वविद्यालयमा भर्ना हुने विद्यार्थी बढे

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, १६ : ०४
कृषि विश्वविद्यालयमा भर्ना हुने विद्यार्थी बढे

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा कृषि स्नातक पढ्ने विद्यार्थीको भर्ना सङ्ख्या बढेको छ । गत शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना नभएको एक आङ्गिक क्याम्पसमा यस वर्ष विद्यार्थी भर्ना भएका छन् ।

अध्ययनका लागि प्रवेश परीक्षा दिने विद्यार्थीको सङ्ख्या पहिलेको तुलनामा घट्दै गए पनि भर्ना हुने विद्यार्थीको सङ्ख्या भने बढेको हो । विश्वविद्यालयको आङ्गिक र सम्बन्धन पाएका क्याम्पसको सिट क्षमताभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षा दिने गर्दछन् । तीमध्ये उत्तीर्ण सबैले पढ्न पाउँदैनन् । कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठका अनुसार चालु शैक्षिक सत्रमा केन्द्रीय क्याम्पस र आङ्गिक गरी नौवटा क्याम्पसमा पाँच सय ६० जना विद्यार्थी भर्ना भएका छन् । गत शैक्षिक सत्रमा यो सङ्ख्या चार सय २६ जना मात्रै थियो ।

 

विश्वविद्यालयको दैलेखको दुल्लुस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा गत वर्ष विद्यार्थी शून्य भएका थिए । यस वर्ष ३० जना विद्यार्थी भर्ना भएका छन् । विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, कास्कीको पुरनचौर र सिन्धुलीको मरिनबाहेक आङ्गिक क्याम्पसमा आधाभन्दा पनि कम विद्यार्थी भर्ना भएका थिए । यस वर्ष भने दुल्लुबाहेक सबै आङ्गिक क्याम्पसमा कोटाअनुसार विद्यार्थी भर्ना भएको उनले जानकारी दिए ।

 

केन्द्रीय क्याम्पस रामपुरमा एक सय ६२ जनाको कोटा निर्धारण गरिएको छ । सिन्धुलीको मरिन, महोत्तरीको बर्दिबास, धनकुटाको पाख्रीबास, कास्कीको पुरनचौर, कैलालीको टीकापुर र दैलेखको दुल्लुमा रहेका आङ्गिक क्याम्पसमा ५४–५४ जनाको कोटा छ । रोल्पाको मणिचौर र बाँकेको खजुरामा ४९–४९ कोटा छ ।

त्यसैगरी, सम्बन्धन प्राप्त निजी क्याम्पस पूर्वाञ्चल कृषि क्याम्पस, नीतिका कृषि सहकारी संस्था इटहरी, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल कलेज नवलपरासी, भ्याली कृषि क्याम्पस ललितपुर, गोरखा पोलिटेक्निक एन्ड रिसर्च सेन्टर कोहलपुर बाँके र ब्राइट मध्यपश्चिम कृषि कलेज सुर्खेतमा ५०–५० जनाको कोटा रहेको छ ।

गत शैक्षिक सत्रमा ती क्याम्पसमा विद्यार्थी भर्ना नभए पनि यस वर्ष केही क्याम्पसमा विद्यार्थी भर्ना भएको श्रेष्ठले जानकारी दिए । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । पछिल्ला वर्षमा क्रमश: घट्दै गएर यस वर्ष एक हजार तीन सय ६५ जनाले मात्रै आवेदन दिएका थिए । तीमध्ये एक हजार ५५ जना प्रवेश परीक्षामा उत्तीर्ण भएका थिए । तीनै विद्यार्थी क्याम्पसमा भर्ना भएका हुन् ।

गत शैक्षिक सत्रमा एक हजार पाँच सय २३ जनाले आवेदन दिएकामा सात सय ५३ जनामात्र उत्तीर्ण भएका थिए । त्यसको अघिल्लो वर्ष उत्तीर्ण हुनेको सङ्ख्या आठ सय थियो । एक हजार सात सयजनाले आवेदन दिएका थिए । यसको तुलनामा चालु शैक्षिक सत्रमा विद्यार्थी धेरै उत्तीर्ण भएका हुन् ।

सात विश्वविद्यालयका ३५ वटा क्याम्पसले कृषि स्नातक पढाउँदै आएका छन् । तीमध्ये १६ वटा क्याम्पस कृषि विश्वविद्यालयका हुन् भने अन्य क्याम्पस अरू विश्वविद्यालयका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले विद्यार्थी बढ्ने गरी नीतिगतरुपमा विश्वविद्यालयले सुधारका काम गरेकाले कृषि पढ्ने विद्यार्थीको सङ्ख्या बढेको बताए । समयमा प्रवेश परीक्षा हुनु, विश्वविद्यालयको सकारात्मक प्रचार हुनु पनि विद्यार्थी बढ्नाका कारण रहेको उनले बताए । 

पाठ्यक्रम पुरानो भएकाले संशोधन गरेर यसै शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रमअनुसार पढाइ सुरु गरिएसँगै विद्यार्थीको आकर्षण बढ्न थालेको उनले बताए । शैक्षिक क्यालेन्डरअनुसार सबै सङ्कायको पढाइ र परीक्षा एउटै समयमा हुन थालेको उनले बताए । विश्वविद्यालयमा हुने गरेका हडतालमा समेत कमी आएपछि विद्यार्थी भर्ना हुने दर बढेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस