आमाहरूलाई पढाउँदै सेवानिवृत्त शिक्षक

रासस

शनिबार, ०९ भदौ २०८०, १४ : ४९
आमाहरूलाई पढाउँदै सेवानिवृत्त शिक्षक

बेनी । प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरूलाई पढाउन पुनः स्वयंसेवक शिक्षकका रूपमा शिक्षण पेसामै फर्कीएका छन् ।  पढ्ने रहर अधुरै भएका आमाहरूलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ वर्षीय सुवेदीले स्वयंसेवक शिक्षकका रूपमा शिक्षण पेसालाई पुनः निरन्तरता दिएका हुन् । 

लामो समयसम्म प्रकाश माविको प्रधानाध्यापक भएर जिम्मेवारी पूरा गरेका सुवेदीले अस्थायीसहित ४३ वर्ष छ महिना १८ दिन शिक्षण गरेका थिए । विसं २०७८ फागुन १८ गते अनिवार्य अवकाश लिएर सेवानिवृत्त दैनिकीमा समय बिताउँदै आएका सुवेदी यही भदौ पहिलो सातादेखि उज्यालो वैकल्पिक विद्यालयमा जोडिएका हुन् । 

आमाहरूले अध्ययन गर्दै आएको विद्यालयमा शिक्षकको अभाव भएको र विद्यालय व्यवस्थापन समितिबाट भएको आग्रहबमोजिम आफू स्वयंसेवक भूमिकामा पुनः शिक्षणमा फर्किएको उनले बताए । “अधिकांश विद्यार्थी आमाहरू नै छन्, उनीहरूमा पढ्ने तीव्र इच्छाशक्ति छ, मेरो अनुभव र क्षमताले भ्याएसम्म उनीहरूको सिकाइ उपलब्धि बढाउनतर्फ मेरो प्रयास रहन्छ”, सुवेदीले भने । 

सानो उमेरमा अध्ययन गर्न नपाएका, बीचैमा विद्यालय छाडेका महिला र आमाहरूलाई लक्षित गरेर बेनी सामुदायिक विद्यालय मातृ विद्यालय रहनेगरी विसं २०७१ देखि बेनीमा उज्यालो वैकल्पिक विद्यालय सञ्चालनमा आएको थियो । अहिले सामाजिक विकास कार्यालय सञ्चालनमा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयको भुँइतलामा कक्षाकोठा व्यवस्थापन गरेर कक्षा १ देखि १० सम्म पठनपाठन सञ्चालन गर्दै आइएको छ । 

प्रतिक्रिया दिनुहोस