नक्कली सवारी चालक अनुमतिपत्रसहित दुईजना चालक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, २१ : ०३
नक्कली सवारी चालक अनुमतिपत्रसहित दुईजना चालक पक्राउ

काठमाडौं।नक्कली सवारी चालक अनुमति पत्रसहित दुई जनालाई मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौंको मनमैजु बस्दै आएका २३ वर्षीय श्रीकृष्ण भुर्तेल र सिन्धुली घर भइ काठमाडौंको स्वयम्भू बस्ने २७ वर्षीय भिमबहादुर स्याङतानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले आज एकान्तकुनामा बा ४ ख ३८ ५१ नम्बरको बस चेक गर्ने क्रममा श्रीकृष्ण भुर्तेलको (०१-०६-०१०४८१८५ वर्ग B,G) सवारी चालक अनुमति पत्र फेला पारी शंका लागेर विद्युतिय माध्यमबाट चेक गर्दा  वर्ग B मात्र खुल्न आएको थियो।

त्यस्तै यही बैशाख १ गते जावलाखेलमा ट्राफिक नियम उल्लंघन गरी कारबाहीको लागि लिएको (०१-०६-००९८०७२४ वर्ग A, B, F ) सवारी चालक अनुमति पत्र लिन आएको अवस्थामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै ट्राफिक प्रहरीले भिमबहादुर स्याङतानलाई नियन्त्रणमा लिएको हो।

उनको सवारी चालक अनुमतिपत्र विद्युतिय माध्यमबाट चेक गर्दा कुनै पनि विवरण फेला नपरेकाले उनलाई नियन्त्रणमा लिइएको हो। बा २ क ९८ ०१ नम्बरको ट्रक चलाएको अवस्थामा स्याङतान कारबाहीमा परेका थिए।

नियन्त्रणमा आएका दुवैजनालाई आवश्यक अनुसन्धानको लागि सवारी चालक अनुमति पत्रसहित प्रहरी वृत्त सिंहदरबार पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस