कडा चेतावनी दिँदै राष्ट्रसङ्घीय प्रमुखले भने– रफाहको भूमि आक्रमण ‘असहनीय’

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १६ : २६
कडा चेतावनी दिँदै राष्ट्रसङ्घीय प्रमुखले भने– रफाहको भूमि आक्रमण ‘असहनीय’

काठमाडौं। न्युयोर्कसंयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार कडा चेतावनी जारी गर्दै रफाहको भूमि आक्रमण ‘असहनीय’ हुने बताएका छन् । उनले यसको विनाशकारी मानवीय परिणाम तथा यस क्षेत्रमा सम्भावित अस्थिर प्रभाव हुने बताउनुभएको सिएनएनले बताएको छ ।

‘रफाहमा स्थलगत आक्रमणले विनाशकारी मानवीय परिणाम र यसको अस्थिर प्रभाव असहनीय हुनेछ,’ उनले भने, ‘मैले इजराइली सरकार र हमासको नेतृत्वलाई युद्धविराम सम्झौतामा पुग्नका लागि अतिरिक्त प्रयास गर्न कडा अपिल गरेको छु, यो यस्तो अवसर हो जसलाई छाड्न सकिँदैन ।

प्यालेस्टिनी सिभिल डिफेन्सका अनुसार मङ्गलबार बिहान रफाहमा धेरैवटा हवाई आक्रमणका कारण तनाव बढ्दा मानसिहरू हताहतमा परेका छन् भने कयौँ घाइते भएका छन् ।

‘सिभिल डिफेन्स टोलीहरूले दक्षिणी गाजा पट्टीको रफाह प्रान्तका विभिन्न स्थानमा सोमबार राति इजराइली लडाकु विमानहरूले बम प्रहार गरेका धेरै घरहरूको भग्नावशेषमुनिबाट धेरै सहिद र घाइतेलाई निकाल्न सफल भएका छन्,’ प्यालेस्टिनी डिफेन्सको विज्ञप्तिमा भनिएको छ ।

सिभिल डिफेन्सले जारी गरेको तस्बिरहरूले बमबारी भएका घरहरूको भग्नावशेषमुनि हताहत भएका धेरैलाई फेला पारेको विज्ञप्तिमा उल्लेख छ । मङ्गलबार बिहान जारी एक फेसबुक पोस्टका अनुसार रफाहको कुवेत अस्पतालमा ११ जनाको मृत्यु भएको बताइएको छ ।

बढ्दो हवाई आक्रमणका बीच इजराइली प्रधानमन्त्रीको कार्यालयले सोमबार ‘हमासमाथि सैन्य दबाब दिन’ रफाहमा सैन्य कारबाही जारी राख्ने पुष्टि गरेको छ । इजराइली रक्षा बल (आईडीएफ)ले पूर्वी रफाहमा हमासका आतङ्कवादी लक्ष्यहरू विरुद्ध जारी लक्षित आक्रमणहरू गरेको बताएको छ ।

सिभिल डिफेन्सका अनुसार आइतबारदेखि सोमबारसम्म रातभर भएको घातक बमबारीपछि कम्तीमा २६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस