इन्डक्सन फर्नेस उद्योगबाट राज्यलाई मासिक रु. १६ करोड घाटा !

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १२ : ३६
इन्डक्सन फर्नेस उद्योगबाट राज्यलाई मासिक रु. १६ करोड घाटा !

काठमाडौँ ।  सरकारको कुल कर राजश्वमा एक चौथाइ हिस्सा पैठारीबाट प्राप्त हुने राजश्वले राख्दछ । तर,  नेपालमा पैठारीको परिमाण घट्नाले राजश्वमा समेत असर देखिएको छ ।

यद्यपि पैठारी घटिरहेको अवस्थामा समेत फलोमे छडको कच्चा पदार्थ स्पन्ज आइरन, स्क्राप तथा पिग आईरनको पैठारी परिमाण भने उच्च गतिमा बढिरहेको छ ।  तर ती वस्तुको पैठारीबाट राज्यले प्राप्त गर्ने राजश्व अनुपात घटेको सरोकारवालाको भनाइ छ ।

विगत वर्षहरूमा नेपालमा फलामे छड उत्पादन गर्नका लागि बिलेट्सको पैठारी ठुलो मात्रामा गरिन्थ्यो । वार्षिक १२ लाख मेट्रिक टन भन्दा बढी बजार रहेको फलामे छड उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा रोलिङ्ग मिलमा प्रयोग हुने बिलेट्सले ८५% हिस्सा ओगट्दथ्यो । यस्तै इन्डक्सन फर्नेस मिलबाट स्पन्ज, स्क्राप तथा पिग आइरन प्रयोग गरी छड उत्पादन गर्नेहरूले कुल पैठारी परिमाणमा केवल १५% हिस्सा राख्दथे ।

आर्थिक वर्ष २०७७।७८ सम्म यही सेरोफेरोमा घुमेको पैठारी विवरण २०७८ भाद्र २५ गते जारी भएको प्रतिस्थापन विधेयक र सो पछि जारी आर्थिक ऐनहरू मार्फत लागु गरेका करका दरहरूका कारण बिस्तारै परिवर्तन हुँदै गएको छ ।

एक उद्योगीका अनुसार थप कच्चा पदार्थहरू स्क्राप र पिग आइरन पैठारीमा २०७८ भदौ २५ गतेदेखि भन्सार महसुल तथा अन्तःशुल्क शत प्रतिशत छुट गरिएको छ । फलामे छड बनाउन प्रयोग गरिने बिलेट्स ततायर छड उत्पादन गरिन्छ भने स्पन्ज, स्क्राप र पिग आइरनलाई गलाएर छड उत्पादन गरिन्छ । छड बनाउन आवश्यक सम्पूर्ण कच्चा पदार्थहरू विदेशबाट नै पैठारी गर्नुपर्ने वास्तविकता रहेको छ ।  यी चारै कच्चा पदार्थहरूको छड उत्पादन बाहेक कुनै फरक उपयोग नै नरहेको रोलिङ्ग मिलमा राजश्वको भार थप्दै इन्डक्सन फर्नेस मिल उद्योगीलाई दिइएको छुट सुविधा एकतर्फी र विभेदकारी रहेको ती उद्योगीको भनाइ छ । 

आ.ब. २०७७।७८ सम्ममा सबै कच्चा पदार्थहरूबाट समान रुममा भन्सार महसुल र मू.अ.कर गरी करिब १८.४% राजश्व सङ्कलन हुने गरेकोमा आ.ब. २०७८।७९ देखि पैठारी परिमाण र रकम बढ्दै गरेको छ भने सो पैठारी रकममा राजश्वको अनुपात भने घट्दै गएको छ ।

 बिलेट्सका हकमा हाल भन्सार बिन्दुमा नै कच्चा पदार्थमा अन्तःशुल्क सङ्कलन गर्ने व्यवस्था २०७८ भदौ २५ देखि लागु भएपश्चात नै राजश्वको पैठारी रकमसँगको अनुपात २२ प्रतिशत पुगेको छ भने इन्डक्सन फर्नेसमा गलाएर छड बनाउन प्रयोग हुने स्पन्ज आइरन, स्क्राप र पिग आइरनबाट प्राप्त हुने राजश्व अनुपात भने घट्दै गई हाल केवल १३.८% रहेको छ । 

आ.ब. २०७८।७९ देखि आ.ब. २०८०।८१ को चैत्र महिनासम्मको ३३ महिनामा भन्सार विभागको विवरण अनुसार कुल रु. ११७ अर्ब १२ करोडको स्पन्ज, स्क्राप र पिग आइरन पैठारी भएकोमा सरदर १३.८% का दरले रु. १६ अर्ब १९ करोड राजश्व सङ्कलन भएको छ । तर राजश्वमा छुट दिनुअघिको राजश्व दर १८.४% का दरले हिसाब गर्दा कमि भएको राजश्वको सरदर दर ४.६% अनुसार रु. ५ अर्ब ३२ करोड राजश्वमा घाटा भइसकेको छ जुन मासिक रूपमा सरदर रु. १६ करोड भन्दा बढी हुन आउँछ। 

समान राजश्व दर भएको आ.ब. २०७७।७८ मा वार्षिक रु. ८ अर्ब ५६ करोडको मात्रै पैठारी भएका यी ३ कच्चा पदार्थको कुल पैठारी आ.ब. २०७८।७९ मा ३ गुणाले बढ्दै रु. २६ अर्ब ६६ करोड पुगेको छ । आ.ब. २०७९।८० मा ६ गुणाले बढ्दै रु ५२ अर्ब २२ करोड पुगेको छ भने यस आ.ब. २०८०।८१ को ९ महिनामा मात्रै रु. ३८ अर्ब २४ करोड पुगेको छ । पैठारी रकममा वृद्धि भएता पनि राजश्वमा भने मासिक १६ करोड तथा वार्षिक करिब १ अर्ब ९५ करोड घाटा भइरहेको देखिन्छ । 

नेपालमा भित्रिरहेको इन्डक्सन फर्नेस प्रविधि वातावरणका लागि समेत हानिकारक रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस