मैले पाएको मतबाट राज्य सञ्चालकहरू झस्किएका छन् : डकेन्द्र थेगिम

सफल खबर संवाददाता

बुधबार, १९ बैशाख २०८१, १४ : ३७
मैले पाएको मतबाट राज्य सञ्चालकहरू झस्किएका छन् : डकेन्द्र थेगिम

काठमाडौँ। इलाम-२ को उपनिर्वाचनमा पराजित पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्त्वपूर्ण भएको बताएका छन् ।

उपनिर्वाचनको नतिजा आएपछि बुधबार इलाममा पहिचान पक्षधरले पत्रकार सम्मेलन आयोजना गरेका थिए । सो कार्यक्रममा उम्मेदवार थेगिमले आफूले पाएको मतबाट राज्य सञ्चालन गरिरहेकाहरू झस्किएको धारणा राखे ।

१५ वैशाखमा भएको इलाम-२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवारी दिएका थेगिमले ११ हजार ४५७ मत पाएर तेस्रो स्थानमा रहे । उनले आफूलाई मतदान गर्नेहरूलाई धन्यवाद दिए ।

पत्रकार सम्मेलनमा पहिचान सहितको प्रदेश १ पुनः नामाङ्कन अभियान समिति का महासचिव रामभक्त कुरुम्बाङले एमाले अध्यक्ष केपी शर्मा ओली एकल पहिचानवादी भएको बताए ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष यासेली योङहाङले उपनिर्वाचनमा माओवादी केन्द्रले समेत एमालेलाई साथ दिएकाले उसले पनि पहिचानको एजेण्डा त्यागेको टिप्पणी गरे ।

पहिचान पक्षधर नेताहरूले उपनिर्वाचनमा मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरेको विश्लेषण गरे ।

 

प्रतिक्रिया दिनुहोस