ईपिएलमा चितवन टाइगर्स पोखरा राइनोजसँग १० विकेटले पराजित

मंगलबार, ०४ पुस २०७४, १३ : ०९
ईपिएलमा चितवन टाइगर्स पोखरा राइनोजसँग १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार (आज) भएको पहिलो खेलमा पोखराले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको हो ।

११४ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १७.४ ओभरमा बिना विकेट लक्ष्य पूरा गर्यो । पोखराका लागि ओपनिङमा आएका सुनिल धमला र इसरार उल्लाहले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई १० विकेटको जित दिलाए । उल्लाहले ६१ रन बनाए । उनले ५२ बलमा ६ छक्का र एक चौकाको मद्दतमा अर्धशतकीय पारी खेले । त्यस्तै, धमलाले ४६ रन बनाए । उनले ५४ बलमा तीन चौका र २ छक्का प्रहार गर्दै नटआउट रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले खराब सुरुवात गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । चितवनले ७ रन बनाउँदा आफ्नो महत्वपूर्ण ब्याट्सम्यान दिलिप नाथलाई गुमाएको थियो । दिलिप नाथले ६ रन बनाएर आउट भएका थिए । त्यस्तै, १० रन हुँदा २ विकेट गुमाएको चितवन निकै धरासायीमा पुगेको थियो । दोस्रो विकेटको रुपमा सबेज खान शून्य रनमा आउट भएका थिए ।

चितवन टाइगर्सका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र ओपनर अनिलकुमार मण्डलले इनिङ्स सम्हालेका थिए । कप्तान दिपेन्द्रले ४१ रनको योगदान दिए । उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै, अनिलले ३२ रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
पोखरा राइनोजका लागि इसरार उल्लाहले ४ विकेट लिए । त्यस्तै, ताज वलीले ३, कप्तान शक्ति गौचन र विक्रम सोवले समान १–१ विकेट लिए ।

दोस्रो खेल आजै विराटनगर वारिवर्स र ललितपुर प्याट्रिएट्सबीच हुँदैछ ।
यसअघि सोमबार भएको उद्घाटन खेलमा ललितपुर प्याट्रिएट्सले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
इपिएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस