सर्लाहीमा चट्याङ लागेर एकजनाको मृत्यु, दुई जना घाइते

विहीबार, २५ असार २०७७, ११ : ३८
सर्लाहीमा चट्याङ लागेर एकजनाको मृत्यु, दुई जना घाइते

सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक जनाको निधन र दुई जना घाइते भएका छन् ।  रोपाइँ गर्ने क्रममा चट्याङ लागेर  वागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको निधन भएको प्रहरीले जनाएको छ ।

वागमती नगरपालिका–८ निवासी सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको समयमा परेको चट्याङ लागेर पासवानको निधन र कमलादेवी मुखिया घाइते भएका थिए । चट्याङ लागेर बेहोस भएका दुवै जनालाई उपचारका लागि बरहथवातर्फ लगिँदै गर्दा पासवानको निधन भएको र  मुखिया होसमा आई घर फर्किसकेको सर्लाहीका प्रहरी प्रवक्ता  मदन कुँवरले बताए ।

त्यस्तै चट्याङ लागेर जिल्लाको बलरा नगरपालिकामा एक युवक घाइते भएका छन् । वर्षासँगै परेको चट्याङ लागेर बलरा नगरपालिका–१ का ३५ वर्षीय बरुण सहनी घाइते भएका हुन् । उनलाई उपचारका लागि भारतको सितामढीतर्फ लगिएको  प्रहरीले जनाएको छ ।