समाजवादीका अध्यक्ष उपेन्द्र यादवले भने– महाकाली सन्धिमा राष्ट्रघात गरियो, कांग्रेस र कम्युनिष्ट नेताले माफी माग्नुपर्छ

शनिबार, ३१ जेठ २०७७, १६ : २३
समाजवादीका अध्यक्ष उपेन्द्र यादवले भने– महाकाली सन्धिमा राष्ट्रघात गरियो, कांग्रेस र कम्युनिष्ट नेताले माफी माग्नुपर्छ

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महाकाली सन्धिमा राष्ट्रघाट गर्ने कांग्रेस र कम्युनिष्टले माफी माग्नुपर्ने बताएका छन् । सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको उनले बताए ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैँमा अपमानजनक भएको बताए ।

तर काली महाकाली नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए । समाजवादी पार्टीका अध्यक्ष यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय समेत आफ्नो पार्टीले गरेको बताए ।

तर महाकाली सन्धिको प्रस्तावनामा नै ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकको सीमा नदी भएको स्वीकार गर्दै’ भन्ने लेखिएको उनले बताए । महाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने जवाफ दिनुपर्‍यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडि किन हटेको ?’

कांग्रेस र कम्युनिस्ट नेताहरूलाई ‘राष्ट्रवादको नारा दिन्छौं, मधेशीहरूलाई गाली गर्छौं तर राष्ट्रघात हामी आफैँ गर्छौं भनेर जनतासँग माफी माग्न आग्रह गरे ।