संसदमा गगनले भने–राष्ट्रपतिलाई श्री ६ बनाउने अधिकार कहाँ छ ?

आइतबार, २५ जेठ २०७७, १६ : ३८
संसदमा गगनले भने–राष्ट्रपतिलाई श्री ६ बनाउने अधिकार कहाँ छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपतिलाई श्री ६ बनाउने अधिकार कहाँ छ भन्दै संसदमा कटाक्ष गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेटमा समेटेका कार्यक्रमबारे प्रश्न गर्दै थापाले भने, ‘शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ॽ

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर राखिएको कार्यक्रममा आपत्ति जनाउँदै उनले भने, ‘हिजो राजाको बक्सिस जस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मनलाग्दी पैसा दिन पाउने कार्यक्रम संघीयता, संविधान र व्यवस्थाविरोधी छ।’

यस्तो कार्यक्रमलाई छ अरब बजेट दिइएकोमा उनले आपत्ती जनाए । गत वर्ष पाँच अरब बजेट भएको यस्तो कार्यक्रमलाई अहिले छ अरब दिएर अधिकार दुरूपयोग गर्न खोजिएको उनको आरोप छ । शिक्षा मन्त्रीले यस्ता कार्यक्रम बनाउँदा तलब नपाएका सहजकर्ता, शिक्षक र आशिंक प्राध्यापकको याद गर्नुपर्ने थापाको सुझाव छ ।