कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गरौँ : देउवा

बुधबार, २१ जेठ २०७७, १४ : ३४
कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गरौँ : देउवा

file photo

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको छ । नभए जरिवाना लाग्ने उसले बताएको थियो । यसको व्यवसायीहरूले विरोध गरेका छन् ।

कांग्रेस सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् ।
‘जेठ २५ भित्र विभिन्न कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन,’ देउवाले बुधबार विज्ञप्ति निकालेर भनेका छन्, ‘ताकेता फिर्ता लेउ, समयावधि थप गर सरकार।’

देउवाले विज्ञप्ति निकालेर साना—ठूला ब्यवसायीले लकडाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभाग मार्फत नेपाल सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेताप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

‘व्यवसायीहरूले भोग्नु परेको व्यवसायिक जटिलतालाई सहजीकरण गर्न आवश्यक नीति निर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको थियो,’ देउवाले भनेका छन्, ‘प्रतिपक्षको पटकपटकको आग्रहका बावजुद राहतको न्यायोचित प्रबन्ध गर्न सरकार विलकुल गम्भीर भएन। तर लकडाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिकाबीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेर पनि बुझपचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो।’