कोरोना संक्रमितले अस्पतालमै मनाए इद

सोमबार, १२ जेठ २०७७, १४ : ५६
कोरोना संक्रमितले अस्पतालमै मनाए इद

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४० वर्षीय पुरुष र १६ वर्षीय युवक दुवै जना सोमबार बिहानै उठे ।

दुवै जनाले आलोपाले गरेर नुहाईधुवाई गरी बिहानको नित्यकर्म सके । त्यसपछि दुवैजनाले आइसोलेसन वार्डको भुईं सफा गरेर रुमाल बिच्छ्याए । अनि अल्लाह भगवानको नाममा दुवै जनाले नमाज प्रार्थना पढ्न सुरु गरे । यसो गरिरहँदा अस्पतालका बेडमा रहेका अन्य संक्रमितले भने उनीहरुको क्रियाकलाप हेरेर बसिरहे ।

वीरगञ्ज–३ छपकैयाका दुई जनाले नमाज पढेपछि मुस्लिम समुदायको मुख्य पर्व इदुलफित्र ईदको अवसरमा एक अर्कामा शुभकामना साटासाट गरे । त्यसपछि मात्रै थाहा भयो अन्य संक्रमितलाई पनि आज ईद पर्व रहेछ भनेर । प्रत्येक वर्ष परिवारको साथमा ईद मनाउँदै आएका दुवै जनाले यो पटक भने अस्पतालमै मनाएका छन् । ईद पर्वमा नयाँ लुगा लगाउने प्रचलन भए पनि योपटक भने उनीहरुले पुरानै पहिरनमा ईद मनाएका छन् । लकडाउनका कारण परिवारका सदस्यहरुले पनि योपटक नयाँ लुगा लगाउन नपाएको उनीहरुले बताए ।