नेकपा महासचिव भन्छन्, ‘प्रधानमन्त्रीको राजीनामाको प्रस्ताव अनुचित’

शनिबार, २० बैशाख २०७७, १५ : ३१
नेकपा महासचिव भन्छन्, ‘प्रधानमन्त्रीको राजीनामाको प्रस्ताव अनुचित’

काठमाडौं । नेपका महासचिव विष्णु पौडेलले यतिबेला प्रधानमन्त्रीको राजीनामाको प्रस्ताव अनुचित रहेको बताएका छन् । 
महासचिव पौडेलले ओलीको राजीनामा माग्ने कुरा अनुचित र असान्दर्भिक भएको बताए ।

भैंसेपाटीस्थित निवासमा कुरा गर्दै उनले ‘राजनीतिक अस्थिरता र पार्टीलाई अकल्पनीय संकटमा धकेल्ने राजीनामाको प्रस्ताव’ प्रचण्ड र माधव नेपाल लगायतका नेताले फिर्ता लिने विश्वाससमेत व्यक्त गरे ।

केही दिनअघि नेता बामदेव गौतमको निवासमा भएको भैंसेपाटी गठबन्धनको बैठकमा सहभागी भएपछि महासचिव पौडेलको भूमिकाबारे पार्टीमा चर्चा चलिरहेकै बेला उनले केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न नहुने पक्षमा उभिएका हुन् ।

महासचिवको हैसियतले उनी नेताहरुबीच समझदारी कायम गर्न लागिरहेका छन् । पौडेलले भने, अहिले प्रधानमन्त्रीको राजीनामाको प्रस्ताव नै अनुचित छ । उहाँले पार्टी र सरकारको नेतृत्व छाड्नुपर्ने कारण छैन र छाड्नु पनि हुन्न ।’

केपी ओली र प्रचण्डबीच केही असमझदारी देखिएको भएता पनि समझदारीमा फर्किने पौडेलको विश्वास छ । महासचिव पौडेलले भने, ‘दुई अध्यक्षबीच असमझदारी देखिएकै हो, तर उहाँहरु आपसमा बसेर समझदारीअनुसार निर्णय गर्ने अभ्यासमा फर्किर्नैपर्छ, अरु विकल्प छैन ।’

नेकपामा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने अवस्था अहिले नरहेको भन्दै पौडेलले पार्टीका कुनै पनि संरचना सरकारको नेतृत्व परिवर्तनका पक्षमा नरहेको दाबी गरे । स्थायी कमिटी बैठक माग गर्ने नेताहरुको माग सरकारले सम्बोधन गरिसकेकाले अहिले बैठक आवश्यक नरहेको महासचिव पौडेलले बताए ।

सचिवालय बैठकबाट नेकपा पुनः समझदारीको अभ्यासमा फर्किने भन्दै उनले बामदेव गौतमलाई आफ्नो विकल्पमा अघि सार्ने प्रस्तावमा प्रधानमन्त्री प्रतिवद्ध रहेको समेत बताए । तर, यसको थप व्याख्या भने उनले गर्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस