जापान र चीन उड्दै नेपाल एयरलाइन्स

शुक्रबार, २८ चैत्र २०७६, १७ : ४५
जापान र चीन उड्दै नेपाल एयरलाइन्स

– सिबी अधिकारी
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइड बडी ए–३३० जहाजले आज जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दै छन् । निगमका यी दुवै जहाजको व्यावसायिक उडान नभइ चाटर्ड र कार्गो उडान मात्रै हुन् ।  

    जापानले निगमको वाइड बडी जहाज चाटर्ड गरीे नेपालमा रोकिएका २०० भन्दा बढी नागरिक स्वदेश लैजान लागेको छ भने निगमको अर्को वाइड बडी जहाज मेडिकल सामग्री लिन ग्वाङ्जाओ उड्ने तयारीमा रहेको हो ।

    आज राति ८ बजे निगमको जहाज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने कार्यतालिका रहेको अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यो जहाज जापानी नागरिकलाई गन्तव्यमा पु¥याएर शनिबार नेपाल फर्कने जनाइएको छ । निगमको जहाज जापानी नागरिकलाई लिएर आज राति त्यसतर्फ जान लागेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आजै निगमको अर्को वाइड बडी जहाज पनि औषधिजन्य सामग्री लिन ग्वाङ्जाओ उड्दैछ । 

    नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगित गरिएको छ । निगमले जापानसहित नौ गन्तब्यमा आफ्ना दुइ वाइड बडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमको अर्को वाइड बडी जहाज आज साँझ ६ बजे चीनको ग्वाङ्जाओ उड्नेछ । 

आजै चार अन्तर्राष्ट्रिय उडान 

    चैत ११ देखि वैशाख ३ गतेसम्म देशभर लकडाउन घोषणा गरिएको छ । यो अवधिमा चैत १० देखि वैशाख १५ सम्म चरणबद्धरुपमा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ ।

    तर अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चाटर्ड तथा केही कार्गो उडान भइरहेका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई विभिन्न देशले जहाज चाटर्ड गरी स्वदेश फर्काइ रहेका छन् ।  आज मात्रै चार अन्तर्राष्ट्रिय उडान हुदैछन् । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले लकडाउनको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त रहेको र आज मात्रै चार उडान हुने बताउनुभयो । केहीबेरअघि बेलायतको टीटान एयरवेजले २४२ बृटिस नागरिक लिएर गन्तव्यतर्फ उडेको छ । बेलायतले नेपालस्थित दूतावासको समन्वयमा जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको हो ।    

    त्यसैगरी कोरियन एयरले पनि आज आफ्ना नागरिक स्वदेश लैजाँदैछ । बेलायतले यसअघि चैत २६ गते पनि सोही जहाजमार्फत आफ्ना करिब २५० नागरिक स्वदेश फिर्ता लगेको थियो । कोरियन एयरको उडानमार्फत उनीहरुलाई घर फर्काउन लागिएको हो । लकडाउनको अवधिमा कोरियन एयरको यो दोस्रो उडान हो । लकडाउनको अवधिमा दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् । चैत १० देखि आजसम्म जम्मा २४ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ । यी उडानमार्फत तीन हजार ५०० भन्दा बढी विदेशी घर फर्किएका छन् । सबैभन्दा बढी उडान गर्नेमा कतार एयरवेजको नौ, नेपाल एयरलाइन्सको छ वटा उडान भएका छन् । त्यस्तै कोरियन एयरको दुई, टीटान एयरको दुई तथा मलेयिसया, मालिन्दो, इत्तिहाद र चेकरिपब्लिकनको समान एक–एक उडान भएका छन् ।

    यसैबीचमा विशेष गरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायतका तथा मलेसिया, चेकरिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घरफर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फिर्ताका लागि सहजीकरण गरेको थियो । (रासस)