असईदेखि माथिल्ला प्रहरीको तलब काटेर कोरोना कोषमा जम्मा गरिने

विहीबार, २७ चैत्र २०७६, १६ : ५३
असईदेखि माथिल्ला प्रहरीको तलब काटेर कोरोना कोषमा जम्मा गरिने

काठमाडौं । प्रहरी प्रधानकार्यालयले प्रहरी सहायक निरीक्षक (असई) देखि माथिल्ला तहका प्रहरी अधिकारीहरूको केहीदिनको तलब कट्टा गरेर कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागले सबै कार्यालयलाई परिपत्र गर्दै प्रहरी सहायक निरीक्षकदेखि महानिरीक्षकसम्मको तलब कट्टा गर्न निर्देशन दिएको हो ।

'नेपाल प्रहरीमा कार्यरत अधिकृतस्तरसम्मका कर्मचारीहरूले प्राप्त गर्ने तलबबाट देहाय अनुसारको रकम जम्मा गर्नुपर्ने भएको हुँदा तहाँ कार्यालयहरूले राष्ट्रिय बाणिज्य बैंकमा रहेको कोषको खातामा २०७७ वैशाख महिनाको तलबबाट रकम कट्टा गरी सो कोषमा जम्मा गर्न गराउन निर्देशनानुसार अनुरोध गरिएको छ,' पत्रमा भनिएको छ, 'साथै जम्मा गरिएको रकमको भौचरको प्रतिलिपि एकमुष्ट संकलन गरी यस महाशाखामा पठाउनुहुन अनुरोध गरिएको छ ।'

वैशाख महिनाको तलबबाट कट्टा गरी तत्काल वाणिज्य बैंकमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न गराउन निर्देशन दिइएको छ ।

प्रहरी सहायक निरीक्षक र नायव प्रहरी निरीक्षकले ३ दिनको तलब, प्रहरी निरीक्षक, प्रहरी नायब उपरिक्षक र प्रहरी उपरिक्षकले पाँचदिनको तलब, प्रहरी बरिष्ठ उपरिक्षक देखि महानिरिक्षकसम्मले सातदिनको तलब कोषमा जम्मा गर्नुपर्ने छ ।