अल्पमतमा परेपछि यतिसम्म रहेछ प्रधानमन्त्री ओलीको भित्री प्लान् ?

बुधबार, ०५ चैत्र २०७६, ०८ : ५६
अल्पमतमा परेपछि यतिसम्म रहेछ प्रधानमन्त्री ओलीको भित्री प्लान् ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था, उनको पार्टी र सरकार सञ्चालन कार्यशैली लगायतका कारण सत्तारुढ दल नेकपा र सरकार समेत बन्धक बन्न थालेको छ । उनको कार्यशैलीगत समस्याको पटक पटक कुरा उठ्न थालेपछि पार्टीभित्रै नेताहरुका बीचमा धुव्रिकरण हुन थालेको छ ।

यो धुव्रिकरणमा उनी पार्टीभित्र अल्पमतमा पर्ने र सरकारको काम पनि प्रभावकारी नदेखिएपछि आलोचित बनेका छन् । जसकाकारण उनी सकभर समस्यालाई यथाअवस्थामै राखेर आफु अनुकुलको वातावरण निर्माण नहुँदासम्म अल्झाईरहन चाहन्छन् । त्यही क्रममा उनले पार्टीले राष्ट्रिय सभामा उपाध्यक्ष बामदेव गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिवाट मनोनित गरिने कोटामा लैजाने भनी गरेको निर्णयलाई अटेर गरी बसिरहेका छन् ।

मृगौला पूनः प्रत्यारोपण गरेर आराममा बसेका ओलीलाई चिकित्सकहरुले दौडधुपमा नलाग्न गरेको आग्रह, उनको सरकार सञ्चालन शैली र पार्टीमा उनले अड्काएको विषयले उनकै कारण नेकपा दिन प्रतिदिन अर्कमन्यतामा फस्दै जान थालेको छ । आफै ब्रम्हज्ञानी र आफु बाहेक अन्यले केही गर्ने सक्दैनन भन्ने हठका कारण ओलीले पार्टीभित्र आफु इतर नेताहरुलाई पाखा लगाउने अनेक तानावाना निकट समुहसँग बसेर बनाउन थालेका छन् । एउटालाई पाखा लगाउन अर्काेको साथ लिने रणनीति अनुसार उनी अहिले पनि नेकपाभित्रको आफ्नो अप्ठयारो फुकाउन खोजिरहेका छन् । तर उनी यसमा सफल भने हुन सकिरहेका छैनन् । 

ओलीले बामदेवलाई राष्ट्रिय सभा पठाउने पार्टीको सर्वसम्मत निर्णय कार्यान्वयन गर्दिन भनी लिएको पछिल्लो अडानमा उनी आवश्यक परे पार्टी विभाजन गर्ने सम्मको खेलमा लागेको तर उनलाई आफु निकट नेताहरुले नै त्यो स्टेपसम्म पुगि नहाल्न गरेको आग्रहबाट पछि हटेको स्रोत बताउँछ ।

उनले आवश्यक परे काँग्रेससँगको समिकरणमा सरकार निर्माणको योजना सम्म यो बीचमा बनाएको उनी निकट नेताहरुको भनाई छ । पार्टीमा आफु अल्पमतमा परेपछि ओलीले अहिले बहुमतको निर्णय नमान्ने, ४० प्रतिशत संख्या केन्द्रीय समिति र संसदमा समेत पु¥याउने र आवश्यक पर्दा काँग्रेससहितको सरकारको प्रयास पनि गर्ने गरी रणनीति बनाए ।

त्यही क्रममा उनले काँग्रेस नेता शेखर कोइराला लगायत नेताहरुसँग भेटवार्ता गरेका थिए ।  त्यसो गर्दा सत्तारुढ दल नेकपामा विभाजन आउने थियो । त्यो पनि प्रधानमन्त्री ओलीका कारण । तर उनको त्यस्तो कदममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतले गलत हुने भन्दै ओलीलाई सम्झाएपछि अहिले उनको रणनीति फेरिएको छ ।
उनी अहिले माधव नेपाललाई जुनकुनै पद दिएर भएपनि फकाउने प्रयासमा छन् । त्यसैका लागि देशभरका आफु निकट नेता–कार्यकर्तालाई उनले परिचालन गरेर माधव नेपाललाई फकाउने प्रयास गरिरहेका छन् ।

माधव नेपाल निकट एक नेताका अनुसार, ओलीले अहिले माधव नेपाललाई के कसरी हुन्छ शक्ति बाँडफाँड गरेरै भएपनि पूर्व एमालेभित्रको जनताको बहुदलीय जनवाद (जवज)को धार एकता गरौं भन्दै प्रस्ताव पठाउन थालेका छन् । तर शक्ति बाँडफाँडको त्यस्तो प्रस्ताव के हो ? भन्ने बारेमा भने ओली पक्षले नेपालसँगको छलफलमा प्रष्ट बताई नसकेको नेपाल निकट ति नेताले भने । ओली अझै पनि एमसिसि पारित गराउने र वामदेवलाई राष्ट्रिय सभामा नपठाउने विषयमै अडिग छन् ।

तर पार्टी विवादमा मध्यस्थामा लागेका र ओलीले फकाउन निक्कै जोड गरिरहेका नेता नेपालले भने एमसिसिका बारेमा केही नबोलेपनि वामदेवलाई राष्ट्रिय सभामा लैजानुपर्ने पार्टी निर्णय भने कार्यान्वयन गर्नुपर्ने पक्षमा आफु रहेको प्रधानमन्त्री र उनी निकट नेताहरुसँग बताईरहेका छन् । ‘आफै पार्टी अध्यक्ष अनि आफै सहतिको बैठकले सर्वसम्मत गरेको निर्णय कार्यान्वयन गर्नुपर्छ, नत्र पार्टीभित्र सस्थागत विधि पद्दतीको बाटो बसाल्न गाह्रो हुन्छ, त्यो निर्णय भने कार्यान्वयन गर्नेपर्छ,’ आफुलाई भेट्न आएका ओली निकट नेताहरु मार्फत नेता नेपालले ओलीलाई सन्देश पठाईरहेका छन् ।

नेपालले दुवै अध्यक्षलाई मध्यमार्गी हुने गरी राष्ट्रिय सभामा गौतमलाई लैजाने, मन्त्रीमा खतिवडाको निरन्तरता दिने र त्यही बेलामा मात्र निर्णयमा पुग्ने प्रस्ताव गरेका छन् । खतिवडा मन्त्रीमा दोहोरिसकेका छन् । अव वामदेवलाई राष्ट्रिय सभामा लौजानुपर्नेमा नेपाल अडिग छन् । यो बीच राष्ट्रपतिलाई समेत भेटेर केही नेताहरुले पार्टी निर्णय प्रधानमन्त्रीले मान्नुपर्ने जानकारी गराएका छन् । प्रधानमन्त्रीले नपठाए ? ‘त्यस्तो बेला दुर्भाग्य हुन्छ,’ एक नेताले भने,–‘उहाँले केही समय यो विषयलाई त्यक्तिकै थन्काउनुहुन्छ होला, तर कार्यान्वयन गर्नुहुन्छ ।’ आज दिउँसो बोलाईएको पार्टी सचिवालयमा यो विषयमा छलफल हुने सम्भावना कमै रहेको नेताहरुकै भनाई छ ।

पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री अगाडी बढे यो विषय स्थायी समितिमा जाने  र त्यहाँ प्रधानमन्त्रीका विरुद्ध निर्णय हुने नेकपाका अर्का एक नेता बताउँछन् । ‘सरकार फेर्ने तहसम्म नजाला तर चुप लागेर बस्ने भन्ने हुदैन,’ति नेताले भने–‘परिस्थिती कस्तो निर्माण हुन्छ, त्यसबेला त्यस्तै निर्णयमा पुगिएला ।’