प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका

क्लेबसेला ब्याक्टेरियाका आशंकामा पिसावको कल्चर गर्न पठाइयो, ४८ घण्टाभित्र रिपोर्ट आउने

विहीबार, २९ फागुन २०७६, ०७ : २५
प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका

काठमाडौं । प्रधानमन्त्री ओलीले चाहेको हुन्थ्यो भने उनी गत सोमबार नै अस्पतालवाट डिश्चार्ज भईसकेका हुन्थे । तर चिकित्सकहरुले उनलाई अझै डिश्चार्ज गरेका छैनन ।

सामान्ययता मृगौला प्रत्यारोपण गरेका विरामीलाई मृगौला प्रत्यारोपणको ५ दिन देखि सात दिन भित्र चिकित्सकहरुले डिश्चार्ज गर्दै आएको रेकर्ड पाइन्छ । तर यस्ता विरामीले संक्रमणबाट भने विशेष रुपमा जोगिनु पर्ने हुन्छ । संक्रमण देखिएमा भने थप समय चिकित्सकहरुले दिने गरेको पाइन्छ ।

ओलीले गत शनिबार नै सोमबार आफूलाई डिश्चार्ज गर्न माग गरेका थिए । चिकित्सकहरुले पनि प्रधानमन्त्री ओलीको आग्रहभन्दा पनि दुई दिन पछि वुधबार डिश्चार्जको भित्री तयारी गरेका थिए ।

तर सोमबार बेलुकीबाट प्रधानमन्त्री ओलीमा संक्रमणको आशंकामा चिकित्सकहरुले थप रिपोर्टहरु चेकजाँच थालेका छन् । त्यही क्रममा उनमा पिसाबको संक्रमण भएको हुन सक्ने आशंकामा पिसावको कल्चर गर्न पठाईएको छ ।

उनको पिसावको कल्चर गर्न मंगलवार बिहान पठाइएको हो । त्यसको रिपोर्ट आउन ४८ घण्टा लाग्ने चिकित्सकहरुको भनाई छ ।

पिसाव कल्चर गर्न पठाईएको कुरा प्रधनमन्त्रीका नीजि चिकित्सक डा दिब्या सिंहले पनि घुमाउरो पारामा स्वीकार गरेकी छिन् । ‘विरामीका हरके दिन हरेक किसिमका चेकजाँच गरिएको हुन्छ, त्यही क्रममा पिसावको पनि कल्चर गर्न पठाईएको छ, त्यसको रिपोर्ट ४८ घण्टाभित्र आउँछ,’ डा दिब्यासिंहले वताएकी छिन् ।

ओलीलाई पहिले पनि क्लेबसेला ब्याक्टेरियाको संक्रमण देखिएको थियो । यो फेरि दोहोरिन सक्ने ठानी चिकित्सकहरुले उच्च निगारानीमा ओलीलाई राखिरहेका छन् ।

उनलाई मृगौला दिने समिक्षा संगौला भने वुधबार नै डिश्चार्ज भएकी छिन् ।

ओली वालुवाटार पुगेपछि पनि नियमति भेटघाट बाट टाढा रहने र त्यहा सम्भावित संक्रमणको जोखिमबाट बचाउनका लागि आवश्यक पूर्वाधारको तयारी अहिले भईरहेको छ ।
 
त्यसको तयारीमा अझै केही दिन लाग्ने र प्रधानमन्त्रीको थप रिपोर्टहरु पनि यही बीचमा अस्पतालमै राखेर गरिने भएपछि उनलाई चिकित्सकहरुले डिश्चार्ज भने गरिसकेका छैनन् ।