गोरखामा जीप दुर्घटना हुँदा एकै गाउँका १० जना घाइते

मंगलबार, २७ फागुन २०७६, १० : ०३
गोरखामा जीप दुर्घटना हुँदा एकै गाउँका १० जना घाइते

गोरखा । गोरखामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । उनीहरु सबै रञ्चोक गाउँका हुन् । 

ट्राफिक प्रहरी कार्यालय गोरखाका इञ्चार्ज सुकबहादुर बिकका अनुसार बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ः०० बजे केउरामा दुर्घटना भएको हो ।

जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ । ब्रेक फेल हुँदा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा परी विमला गुरुङ, रमा गुरुङ, बुद्धबहादुर गुरुङ, श्रीमान् गुरुड, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ र उनकी ६ वर्षीया छोरी सुनीता, सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र चालक आनन्दकुमार गुरुङ घाइते भएका छन् ।   

इञ्चार्ज विकका अनुसार विमला, रमा, क्षेत्रकमारी र सुकमायाको अवस्था गम्भीर रहेको छ । थप उपचारका लागि काठमाडौं लैजानु पर्ने भएपछि माउन्टेन एयरको हेलिकोप्टर बोलाइएको छ ।