छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

सोमबार, २६ फागुन २०७६, १६ : २६
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । चितवन, सुनसरी, मोरङ, दाङ र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको   छ । 

चितवन, भरतपुर महानगरपालिका-३ सहिद चोकस्थित सडकमा बा.१ ख ९८५९ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री नवलपरासी कावासोती नगरपालिका-१७ बस्ने करिब ५० वर्षीय ठाकुर पौडेलको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

सुनसरी, ईनरुवा नगरपालिका-६ स्थित सडकमा ना.७ ख ७१८१ नम्बरको ट्याङकरको ठक्करबाट सोही ठाँउ बस्ने पैदलयात्री ४८ वर्षीय मोनिमायाँ गिरीको आइतबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, बेलबारी नगरपालिका-९ नलबारीस्थित सडकमा मे.८ प ५२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक  सोही ठाँउ बस्ने २८ वर्षीय तेज बहादुर धिमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका धिमालको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । 

दाङ, लमही नगरपालिका-१ सुनडबरीस्थित सडकमा रा.१ ख १७९५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाँउ बस्ने २४ वर्षीय होम बहादुर घर्तीमगरको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, वुटवल उपमहानगरपालिका-४ स्थित सडकमा बा.१२ च २३१८ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५२ वर्षीय रबिन्द्र बर्माको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।