छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

शनिबार, २४ फागुन २०७६, १७ : १४
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

काठमाडौं । बर्दिया, कैलाली, जाजरकोट, काभ्रे, गोरखा र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

बर्दिया, गुलरिया नगरपालिका-४ कोटहीस्थित सडकमा भे.१ ह ४३९८ नम्बरको अटोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने अन्दाजी ६५ बर्षीय रंगिलाल गोडियाको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
कैलाली, गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित सडकमा ना.४ ख ४९४४ नम्बरको बस र से.५ प ६९९४ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ लठैया बस्ने अन्दाजी ३० वर्षीय बिजय लामाको मृत्यु भएको छ ।  दुर्घटनामा परी गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

जाजरकोट, शिवालय गाउँपालिका-५ सल्लेरीस्थित सडकमा छेडा बजारदेखि थालातर्फ जाँदै गरेको भे.१ त ८८३० नम्बरको ट्याक्टरबाट झर्ने क्रममा ट्याक्टरको ट्रलीले लागेर सोही ठाउँ बस्ने अन्दाजी ७६ बर्षीय पृथे भाटको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, मण्डनदेउपुर नगरपालिका-१२ बिस्कुटी खोल्सास्थित सडकमा बा.३ ख ७१२१ नम्बरको मिनी ट्रक सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा ट्रक चालक सोही ठाउँ बस्ने २२ बर्षीय रोसन ठकुरी र सह-चालक दिलिप ठकुरीको घटनास्थलमै मृत्यु भएको छ । 
गोरखा, सिरानचोक गाउँपालिका-८ धन्सारस्थित सडकमा ग.१ त ४६८२ नम्बरको ट्याक्टर शुक्रबार राति सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टरमा सवार दाङ घर भएका अन्दाजी २३ वर्षीय यज्ञ बहादुर भण्डारीको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सहित २ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

बाँके, राप्ती सोनारी गाउँपालिका-२ खुईरी जंगलस्थित सडकमा लु.२ ख २३४० नम्बरको ट्रकले भे.९ प ७८१७ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक कपिलवस्तु बाणगंगा नगरपालिका बस्ने ३५ वर्षीय बिष्णु बेलवासेको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।