गाँजा क्यानडाबाट काठमाडौं भित्रिएपछि

शुक्रबार, १६ फागुन २०७६, १८ : ०३
गाँजा क्यानडाबाट काठमाडौं भित्रिएपछि

फाइल फोटो

काठमाडौँ । नेपालका विभिन्न जिल्लाबाट राजधानी र राजधानीबाट विभिन्न जिल्लामा गाँजा तस्करी हुने गरेको छ । 

अझ भारतीय सिमावर्ती क्षेत्रबाट समेत गाँजाको तस्कर हुने गरेको छ । प्रहरीले कयौ घटनामा पक्राउ गरी मुद्दा समेत चलाएको छ । गाउँगाउँमा गाँजा फाँड्ने अभियान समेत प्रहरीले चलाउँदै आएको छ । काठमाडौँ भित्रिने नाकामा गाडी चेकजाँचका क्रममा समेत गाँजा बरामद हुने गरेको छ । 

तर यसपटक एउटा नौलो घटना गाँजा तस्करीले घटनाएका छन् । क्यानडाबाट काठमाडौँसम्म गाँजा भित्रिएको छ । सात समुद्रपारीबाट यसरी गाँजा भित्रिनु चानचुने कुरा होइन । तर काठमाडौंमा यस्तै घटना भएको तथ्य खुलेको छ । त्यो पनि पार्सल गरिएको गाँजा । पुरानो इतिहास बोकेका र भरपर्दा सुचना आदानप्रदानको माध्याम मानिने हुलाकको प्रयोग गरेर यसरी गाँजा भित्रिएपछि हुलाक सेवामा समेत प्रश्न उब्जिएको छ । 

काठमाडौं महानगरपालिका ३० डिल्लीबाजारस्थित गोश्वारा हुलाक कार्यालयमा क्यानडाबाट आएको पार्सल भेटियो ।  त्यसमा अवैध लागूऔषध गाँजा ९ सय ३० ग्राम फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उक्त कार्यालयको पार्सल शाखामा टाइटन फुड्स क्यानडाले निखिल रङ्गा होटल काठमाडौँ इन तिलगंगा पाउने उल्लेख गरी उक्त पार्सल पठाएको थियो । यहाँका कर्मचारीलाई पार्सल शंकास्पद लागेपछि उनीहरुले प्रहरीलाई बोलाएका थिए । 

तत्कालै लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरीले गोश्वारा हुलाक कार्यालयका प्रतिनिधि, वैदेशिक हुलाक भन्सार कार्यालय डिल्लीबजारका प्रतिनिधिसमेतको रोहवरमा खोली जाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा फेला पारेको हो । गाँजा कसरी र किन ल्याएको हो ? भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।