पटिहानी पर्यटकीय विकासको संभावना बोकेको क्षेत्र हो : प्रचण्ड

विहीबार, ०१ फागुन २०७६, १८ : २४
पटिहानी पर्यटकीय विकासको संभावना बोकेको क्षेत्र हो : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटिहानी पर्यटकीय विकासको संभावना बोकेको क्षेत्र भएको बताउनु भएको छ ।

आज विहीबार पटिहानीमा निर्माण गरिएको ‘अम्ब्रेला स्ट्रिट’ को उद्घाटन तथा पटिहानी फूड फेष्टिबल– २०७६ को समुद्घाटन समारोहमा बोल्दै प्रचण्डले यस्तो बताउनु भएको हो ।

सोही क्षेत्रका प्रतिनिधि सभा सांसद समेत रहेका प्रचण्डले पर्यटकीय विकासको संभावना भएकै कारण सरकारले तोकेको सय पर्यटकीय गन्तव्यभित्र पटिहानी पनि परेको बताउनु भयो ।

उहाँले अम्ब्रेला स्ट्रिट निर्माण भएपछि यस क्षेत्रमा आउने पर्यटकको संख्यामा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।

विगतमा आफू पटिहानीमा भैंसी चराउन आएको स्मरण गर्दै प्रचण्डले अहिले यो ठाउँमा विकासले तीव्र गति लिँदा खुसी लागेको सुनाउनु भयो । 

भरतपुर महानगरपालिका–२२ स्थित राप्ती नदी किनारको रमणीयस्थल पटिहानीमा रु तीन करोड खर्च गरी दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’ निर्माण गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस