फोन नउठाएको झोंकमा घाँटी रेटेर प्रेमिकाको हत्या

आइतबार, २६ माघ २०७६, १६ : ४७
फोन नउठाएको झोंकमा घाँटी रेटेर प्रेमिकाको हत्या

मोरङ । माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२ मा रहेको उखुबारीमा स्थानीयले एक महिलाको विभत्स शव देख्छन् । घाँटी काटिएको र सलले बेरिएको अवस्थामा विभत्स शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गर्छन् । 

ती महिला को र कहाँकी हुन् तत्काल केही थाहा हुँदैन । शवको पहिचान हुन नसकपछि प्रहरी गहिरो अनुसन्धानमा जुट्यो । सनाखतको लागि उक्त महिलाको फोटो जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज, प्रहरी संचार, टेलिभिजन, एफएमलगायतका सञ्चार माध्यमबाट हुलिया सार्वजनिक गरियो । 

अन्ततः शव शव बसन्त परियारकी श्रीमती सम्झना खत्री परियारको रहेको खुल्यो । महिलाको हत्या भएको अनुमान गर्दै प्रहरीबाट गहिरो अनुसन्धान सुरु भयो । गहिरो अनुन्धानबाट हत्याको आरोपमा मोरङ प्रहरीले २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरेको छ । 

प्रहरीले साहमाथि सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको हत्या गरेको आरोप लगाएको छ । 

प्रहरीले अनुसन्धानबाट उनीहरुबीच तीन वर्षदेखिको प्रेमसम्बन्ध रहेको खुलेको छ । प्रहरीका अनुसार सप्तरी जिल्ला कृष्णश्रवण गाउँपालिका वडा नं ३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउपालिका वडा नं ३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर ईन्चार्जको रूपमा कार्यरत सुरेन्द्रप्रसाद साह र मृतक सम्झना खत्री परियारवीच प्रेमसम्बन्ध रहेको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालयका अनुृसार माघ २१ गते मंगलबार बिहान १० बजेदेखि मृतक परियार साहको सम्पर्कमा हुँदैनन् । साहले पटकपटक फोन गर्छन् । मृतक परियारबाट फोन रिसिभ हुँदैन । परियारले फोन नउठाएपछि साह उनकै घरमा भेट्न पुग्छन् तर, घरमा कोही फेला नपरेपछि उनी पुनः फ्याक्ट्री फर्किएका थिए ।

अपरान्ह चार बजे साह पुनः परियारलाई खोज्न वरपरको क्षेत्रमा डुलिरहँदा बाँसबारी चोक अगाडि भेटेपछि उनलाई मोटरसाइकलमा चढाएर विराटनगर महानगरपालिका–१२ लैजान्छन् । 

वादविवाद भएपछि रिसको आवेगमा साहले परियारको सल घाँटीमा बेरेर तान्दै उखुबारीमा पुर्याएर धारिलो बाँसलाई हतियारको रुपमा प्रयोग गरी घाटी रेटेर हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीले मोटरसाईकल र दुईवटा मोबाइल पनि बरामद गरेको छ ।