सात जिल्लामा भएका दुर्घटनामा ७ जनाको मृत्यु

आइतबार, १२ माघ २०७६, १३ : २२
सात जिल्लामा भएका दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं । काभ्रे, तनहुँ, झापा, चितवन, कञ्चनपुर, रुपन्देही र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काभ्रेको पाँचखाल नगरपालिका ५ सैंतिस किलोस्थित सडकमा बा ४ ख ११४५ नम्बरको टिपरले बा ८५ प ६०२६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मण्डन देउपुर नगरपालिका ७ बस्ने ३२ वर्षीय प्रदिप श्रेष्ठको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार रामेछाप सालु गाउँपालिका २ घर भएका २८ वर्षीय समर मगरको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी तनुहुँको आबुखैरेनी गाउँपालिका १ सत्रसयस्थित सडकमा ग १७ प ६३४८ नम्बरको मोटरसाइकल ना १ ज ९८४७ नम्बरको म्याजिक भ्यानसँग ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही स्थान बस्ने २१ वर्षीय चन्द्र थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको छिमकेश्वरी अस्पताल आबुखैरेनी हुँदै सीएमसी अस्पताल भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बन्दिपुर गाउँपालिका १ छाप बस्ने १९ वर्षीय आषिश आलेको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापाको दमक नगरपालिका १० नयलबारीस्थित सडकमा को ३५ प १०५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी नगरपालिका ९ बस्ने ३१ वर्षीय धिरेन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।  

चितवनको ईच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित सडकमा पनि शनिबार बेलुका प्रदेश नम्बर ३–०२–०१२ प ४४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ८६ वर्षीय गजबहादुर गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी कञ्चनपुरको पुनर्बास नगरपालिका–२ अम्रैयास्थित सडकमा शनिबार साँझ हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने पैदलयात्री २४ वर्षीय कुल बहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ । अनुसन्धानको क्रममा कुल बहादुरलाई ठक्कर दिएको आशंकामा भे १ त ९८८२ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रुपन्देहीको मायादेबी गाउँपालिका(५ पर्सहवास्थित सडकमा लु १७ प ७११२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लुम्बिनी साँस्कृतिक नगरपालिका १० महिलावार बस्ने १९ वर्षीय गोकर्ण तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तिवारीको  मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका मोटरसाइकल चालक लुम्बिनि साँस्कृतिक नगरपालिका १० महिलावार बस्ने २२ वर्षीय सोनु बर्माको प्रहरीले खोजी गरिरहेको छ ।   

सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकाली मन्दिरस्थित सडकमा पनि बा ४ ख ६९६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा काठमाडौं महानगरपालिका ११ गोठाटार बस्ने ३८ वर्षीय मोहन महर्जनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।