सभामुख चयनमा नेकपामा इगोको लडाईँ

विहीबार, २४ पुस २०७६, १७ : १७
सभामुख चयनमा नेकपामा इगोको लडाईँ

काठमाडौँ । लामो समयदेखि सभामुखको उम्मेदवार तय हुन सकेको छैन । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आन्तरिक विवादका कारण सभामुख चयन गर्न सकेको छैन । 

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको भिन्दाभिन्दै अडानका कारण सभामुखको उम्मेदवार चयन गर्न यतिबेला नेकपालाई ज्वरो आइरहेको छ । 

अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच यो विषयमा पटकपटक वार्ता हुन्छ, तर समाधान हुँदैन, जसका कारण सभामुख लामो समयदेखि देशले पाएको छैन । ‘अध्यक्षद्वय दुबैले आफ्नो अडान छोड्नुभएको छैन, जसका कारण उहाँहरु निष्कर्षमा पुग्न सक्नुभएको छैन’ नेकपाका एक नेताले भने । 

सभामुख चयनमा राजनीतिक सहमति नजुटेको भन्दै संसद बैठक पुस २७ गतेसम्म सूचना टाँस गरेर स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका कतिपय नेताहरूले सत्तारूढ दलको अकर्मण्यताका कारण संसद् बन्धक बनेको आरोप लगाएका छन् । 

पूर्वसभामुखसमेत रहेका नेता सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री ओलीले सभामुख बनाउन जोडबल गरेका छन् भने अर्का अध्यक्ष प्रचण्ड पूर्वमाओवादीबाट सभामुख बनाउनुपर्छ भन्ने अडानमा छन् । अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीले आफ्नो अडान नछोड्दा संघीय सरकार सभामुखविहीन छ । 

सभामुख चयनको विषय पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच इगोका लडाइँ देखिएको छ । प्रधानमन्त्री ओली पूर्व एमालेबाट सभामुख बनाउने अडानमा सुभास नेम्वाङको नाम अघि सारेका छन् भने प्रचण्ड पूर्व माओवादीका नेताहरुको नाम अघि सारेका छन् । 
यसअघिका सभामुख महरा पूर्वमाओवादीबाट भएकाले अहिले पनि पूर्व माओवादीबाटै बनाउनुपर्ने लबिङ प्रचण्डनिकट केही नेताहरूले गर्दै आएका छन् ।

‘आलोपालो प्रधानमन्त्री बन्ने सहमति पनि खारेज भइसकेको अवस्थामा संसद र सरकारमा दुवै पक्षको शक्ति सन्तुलन कायम राख्न हामीले सभामुख पूर्व माओवादीपक्षबाट बनाउनुपर्ने अडानसहित प्रचण्ड कमरेडको ध्यानाकर्षण गराएका छौं’ पूर्व माओवादीका एक नेताले भने । 

सभामुखको विषयलाई पूर्व एमाले पक्षले पनि इगोको विषय बनाइरहेको छ ।

पार्टी एक भइसकेकाले अब पूर्वएमाले र पूर्वमाओवादी भन्दै भागबण्डाको राजनीति गर्न नहुने तर्क पूर्वएमाले पक्षका नेताहरुको छ, तर सभामुखको कुरा गर्दा उनीहरु पनि पूर्व एमालेबाट बनाउने पक्षमा लविङ गरिरहेका छन् । 

यौन दुर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले भदौको पहिलो साता राजीनामा दिएका थिए । महरा अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा  छन् ।