योगेशकाे बचाउ गर्दै दूतावासले निकाल्यो विज्ञप्ति

बुधबार, २३ पुस २०७६, २१ : ३२
योगेशकाे बचाउ गर्दै दूतावासले निकाल्यो विज्ञप्ति

काठमाडौँ । अस्ट्रेलियास्थित नेपाली दूतावासले पर्यटनमन्त्री योगेश भट्टराईबारे प्रकाशित समाचारबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । 

दूतावासले एक विज्ञप्तिमार्फत विषयलाई तोडमतोड गर्ने काम भएको उल्लेख गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘माननीय संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईद्वारा बिहान ११ बजे सिड्नीको सर्कुलर कीबाट शुभारम्भ कार्यक्रम सम्पन्न भएपश्चात् सहभागीहरू भ्रमण वर्षको प्रचारप्रसारका लागि सर्कुलर कीदेखि सिड्नीको प्रमुख पर्यटकीय स्थल ओपेरा हाउससम्म जाने क्रममा ओपेरा हाउसका सुरक्षा गार्डले आफ्नो व्यवस्थापन समितिसँग सम्पर्क गरून्जेलसम्म पर्खन अनुरोध गरेका थिए ।   

नेपाल सरकारको निर्देशन र यस राजदूतावासको पूर्व निर्धारित कार्यक्रमअनुसार न्यु साउथ वेल्स राज्यका लागि नेपालको अवैतनिक महावाणिज्यदूतावास र गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियासँगको सहकार्यमा राजदूतावासद्वारा आयोजित सो कार्यक्रम पूर्व निर्धारित तालिकाअनुसार आयोजना गरिएको थियो ।   व्यवस्थापनबाट खबर आएपश्चात् सहभागीहरू सहजरूपमा ओपेरा हाउससम्म पुगी पुनः सर्कुलर कीमा फर्किएका थिए ।’