प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारको क्रम जारी

मंगलबार, १७ मंसिर २०७६, १२ : ५७
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारको क्रम जारी

काठमाडौँ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । 

उहाँको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनुभएको छ । “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ”, उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले रासससँग भन्नुभयो । 

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अङ्ग प्रत्यारोपण गरिएकालाई शल्यक्रिया गरिएको घाउ निको हुन केही समय लाग्छ ।

प्रधानमन्त्री ओलीले सोमबार सो सेन्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत् आफू उठेर बोल्नसक्ने,  साथीहरूसँग कुरा गर्न सक्ने र समाचार हेर्नसक्ने अवस्थामा रहेको जानकारी दिनुभएको थियो ।(रासस)