चर्को दबाबमा उपेन्द्र यादव

आइतबार, १७ कार्तिक २०७६, ०९ : ३२
चर्को दबाबमा उपेन्द्र यादव

काठमाडौं। कात्तिक २८ देखि ३० गतेसम्म बस्ने समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा सरकार छाड्ने वा नछाड्ने विषय प्रमुख एजेण्डा बन्ने भएको छ । सरकार छाड्ने नछाड्ने विषयलाई केन्द्रीय समितिको बैठकमा प्रमुख एजेण्डा बनाइने समाजवादीका एक नेताले बताए । 

पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने सम्भावना रहेको ती नेताले बताए । समाजवादी पार्टीको सो बैठकलाई समाजवादी पार्टी भन्दा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले ठूलो चासोका साथ हेरेका छन्।

समाजवादी पार्टी र राजपाबीच भएको पार्टी एकीकरण प्रक्रिया कात्तिक मसान्तसम्मको लागि स्थगित गरिएको छ। कात्तिक मसान्तपछि एकीकरण प्रक्रिया अघि बढ्ने वा नबढ्ने २८ देखि ३० सम्म बस्ने समाजवादी पार्टीले गर्ने निर्णयमा भर पर्छ। त्यसैले समाजवादी पार्टीको उक्त बैठकलाई राजपाका नेताहरुले पनि चासोका साथ हेरेका हुन्। 

स्रोतका अनुसार, राजपाका नेताहरुले प्रष्टसँग भनेका छन, समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गर्‍यो भने समाजवादी पार्टी र राजपावीच एकीकरण प्रक्रिया अघि बढ्छ। नभए स्थगित हुन्छ। राजपाका महासचिव केशव झाले भने, ‘समाजवादी पार्टीका नेताहरुले कात्तिक मसान्तमा बस्ने पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने छ भनेर हामीलाई आश्वासन दिनुभएको छ। त्यसैले हामीले उक्त निर्णय पर्खेर बसेका छौ।’ 

समाजवादी पार्टीले सरकार छाड्ने निर्णय नगरेमा समाजवादी पार्टीसँगको एकीकरण प्रक्रिया अघि नबढ्ने झाले प्रष्ट पारे। उनले भने, ‘यसमा हामी प्रष्ट्र छौ। समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गर्‍यो भने एकीकरण प्रक्रिया अघि बढ्छ। नभए स्थगित हुन्छ।’ समाजवादी पार्टीका उपाध्यक्ष रेणू यादवले कात्तिक मसान्तमा बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा सरकारमा बस्ने या नबस्ने विषयमा पनि छलफल हुने बताइन।  

यता, पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न चर्को दबाब परेको छ। राजपाले  सरकार छाड्ने निर्णय नगरेसम्म समाजवादी पार्टीसँग एकीकरण प्रक्रिया नै अघि नबढ्ने शर्त राखे पछि यादवलाई दबाब परेको हो। पार्टीभित्रै पनि कार्यकर्ता पंक्तिबाट सरकार छाड्न पार्टी नेतृत्वलाई दबाब परेको छ।

समाजवादी पार्टी र राजपावीच पार्टी एकीकरण प्रक्रिया विगत केही समयदेखि देखि सुरु भएको छ। अहिले यो प्रक्रिया अड्किएको छ। राजपाका नेताहरुले कात्तिक मसान्त पछि मात्र समाजवादी पार्टीसँग औपचारिक(अनौपचारिक वार्ता हुने बताएका छन्।

स्रोतका अनुसार राष्ट्रिय परिषदका अध्यक्ष बाबुराम भट्टराई तत्काल पार्टी सरकारबाट बाहिरिएर राजपासँग पार्टी एकीकरण प्रक्रियालाई अघि बढाउनु पर्छ भन्ने लाइनमा छन्। यादव भने सरकारबाट तत्काल बाहिरिने लाइनमा त्यती सकारात्मक नभएको पार्टीका एक पदाधिकारी भन्छन, ती नेता भन्छन, ‘तर पनि यादव पार्टीभित्रै यती ठूलो दबाबमा पर्नु भएको छ ताकि यादवको भित्री मन नभए पनि पार्टीले सरकार छाड्ने निर्णय गर्ने सम्भावना बलियो छ।’ समाजवादी सरकारमा सहभागी भएको करिब १८ महिना पूरा भएको छ। यो विचमा दुई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पाटीवीच सम्बन्ध विग्रन थालेको छ।