नयाँ निवासमा २४१ औं प्रधानमन्त्री पनि बस्नुहुन्छ : प्रधानमन्त्री ओली

विहीबार, ०२ असोज २०७६, १३ : ५४
नयाँ निवासमा २४१ औं प्रधानमन्त्री पनि बस्नुहुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्न लागेको नयाँ प्रधानमन्त्री निवास आफूमात्र बस्नलाई नभएको बताएका छन् ।

आज बिहीबार भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मेरा लागि मात्र भवन बनाएको त होइन, यहाँ त ममात्र बस्ने होइन, १४१ औं प्रधानमन्त्री २४१ औं प्रधानमन्त्री पनि बस्नुहुन्छ, म त अहिले ४१ औं प्रधानमन्त्री हुँ ।’

शिलान्यास कार्यक्रममा उनले आफ्ना आलोचकहरुलाई भने, ‘नबनाउँदा पनि बनाए भन्ने, बनाउँदा किन चाहियो भन्ने यस्ता आलोचना गर्नेलाई आलोचनामात्र गर्न दिऔँ । आलोचनाले सरकार आत्तिने होइन, सरकार आफ्नो गतिमा अगाडि बढिरहन्छ ।’

‘मेरो कार्यकाल ठाङठाङ ठुङठुङ सुन्दै बित्ने भयो । छेउमा राष्ट्र बैंक बन्दैछ । त्यसको ठाङठाङ ठुङठुङ, यता आफ्नै भवनको ठाङठाङ ठुङठुङ । राति पनि दिउँसो पनि मैले ठाङठाङ ठुङठुङ सुन्नुपर्छ । अबका प्रधानमन्त्रीले भने शान्तसँग बस्न पाउनुहुन्छ । किनकी त्यतिबेला सबै बनिसकेका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले मेरा लागि होइन, आउने प्रधानमन्त्रीका लागि भवन बनाएको छु, भवनमा रंगरोगनको काम हुँदा मेरो कार्यकाल सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस