आरुबोटे हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन ग¥यो होला ?’

आइतबार, १२ जेठ २०७६, १९ : ४१
आरुबोटे हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन ग¥यो होला ?’

– रवीन्द्र काफ्ले 

फिदिम । आरुबोटे बजारबाट करीब ३०० मिटर पर डाँडोमा सानो, चिटिक्क परेको कच्ची घर । घरको माथिल्लोपट्टि कच्ची सडक । तीनकोठे घरको अघिल्तिर सानो भान्साघर । मुनिपट्टि बाख्रा र कुखुराको खोर । घरको पल्लोपट्टि बाँसको टाटी र टिनले बनेका भुइँघर । घरअघि दाउराको लामो थाक ।

भान्सा घरभन्दा मुनि पत–पत धुँवा आइरहेको, घर वरिपरि मानिसहरु बसेका । टाट्नोमा तीन वटा ठूलठूला खसी । भान्साघर छेवैमा थुपारिएका बाँसमाथि खसीतर्फ हेरेर बसेका थिए, बमप्रसाद साम्पाङ राई । साम्पाङले गत सोमबार आफ्ना साथी धनराज शेर्माको घरबाट खसी लैजाने तयारी गर्नुभएको थियो तर उहाँ कारणावश आइपुग्न सक्नुभएन । त्यही सोमबार राति धनराजको पूरै परिवारको हत्या भयो । धनराज, साम्पाङका अत्यन्तै मिल्ने र पुरानो साथी थिए ।

धनराजको घरमा सामथ्र्यविहीन भएर बस्नुभएका साम्पाङ केही भन्न चाहे पनि भन्न सकिरहनुभएको थिएन । “जहिल्यै रबि आउँदा मलाई भेटेर मात्रै घर आउँथ्यो । कहिल्यै मलाई भेट्न छुटाएको याद छैन्”, साम्पाङले भन्नुभयो, “मेरो साथी जाँदा (हत्या हुँदा) मेरो मुटु चोइटिएको छ ।” चलचित्रमा देखेजस्तै गरी आफ्नो साथी गुमाउनुपर्दा मन स्थिर हुन नसकेको साम्पाङको भनाइ छ ।

गत सोमबार राति सामूहिक हत्यामा मारिएका पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका धनराज शेर्मा स्थानीयवासीको आँखामा नबिझाउने मान्छे थिए । “ज्वाइँ त आँखामा नबिझाउने मान्छे थिए, हाम्रो समुदायमा उनीजस्तो मेहनत गर्ने मान्छे अझैसम्म भेटेको छैन्”, स्थानीयवासी बजिन्द्रप्रसाद फियाकले सम्झनुभयो, “यस्ता मान्छेलाई कुन बैरीले यतिसम्म ग¥यो होला ?” 

गत वर्ष मात्रै वैदेशिक रोजगारीबाट फर्केका शेर्मा गाउँमा सबैका प्रिय थिए । सासू–ससुराको हेरचाहकै लागि ससुराली गाउँमै घर बनाएर बसेका उनी मेहनतका साथ केही नयाँ काम गरौँ भन्ने चाहन्थे । नियमित आयको स्रोत नहुँदा साम्पाङसँग मिलेर उनी खसी, बाख्रा, कुखुरा बिक्री गर्थे । “त्यहाँ राम्रो खसी छ, आउनुहोस् किनौँ भन्थे”, साम्पाङ सम्झन्नहुन्छ, “जे जति भेटिन्थे, उनले भनेभन्दा एक इञ्च पनि तल माथि नहुने ।”

शेर्मा बाल्यकालदेखिका साथी थिए, छिमेकी पनि । शेर्मा विदेशमा रहँदासमेत आफूसँग नियमित सम्पर्क हुने गरेको साम्पाङ सम्झनुहुन्छ । “साह्रै छिटो घुलमिल हुने मान्छे, चाहिँदा सहयोग पनि गरिहाल्ने । यत्ति बिघ्न नराम्रोसँग मारिने गरि उनले कसैलाई केही गरे भनेर म त कल्पनासमेत गर्न सक्दिन”, साम्पाङले सुनाउनुभयो ।

धनराज र उनकी श्रीमती जस्मिताले बर्खाभरका लागि आठ बोरा चामलको जोहो गरेको देखाउँदै स्थानीय अगुवा बजिन्द्रप्रसादले भन्नुभयो, “यस्तो बुद्धिमानी मान्छे, कहिल्यै खाली नबस्ने ।” स्थानीय अगुवाहरु तथा धनराजका आफन्तहरु धनराज र जस्मिताले बुनेका नयाँ मुढामा बसेका थिए । स्थानीय यामकुमारी फियाकले भन्नुभयो, “बेच्नलाई भनेर यत्ति राम्रा मुढा बनेका थिए । ढाका बुन्न सिकाउने जस्मिता आफैँ पनि ढाकाबाट घरव्यवहार चलाउने पैसा कमाउँथिन् ।” तर बीभत्स हत्यापछि यो मेहनती परिवार अब स्थानीयवासीको स्मृतिमा मात्रै सीमित भएको छ ।

धनराज कुचो (अम्रिसो)को व्यापारसमेत गर्दथे । श्रीमती जस्मिताले ढाका बुन्न सिकाउने गरेको भुइँघरमा जम्मा गरेर बिक्री गर्दथे । “हामी सबैलाई छोडेर जान रहेछ, साह्रै दुःख गरेर सम्पत्ति कमाएको”, धनराजकै घरमा भेटिएका उनका गाउँले दाइ दीपेन्द्रकुमार शेर्माले भन्नुभयो, “सधैँ दुःख र मेहनत गर्ने मान्छेमाथि म त औँला ठड्याउने ठाउँ पनि देख्दिन ।” धनराजको मेहनत देखेर सबै गाउँले चकित थिए । जस्मिता पनि उत्तिकै जाँगरिली थिइन् ।
    
सोमबार राति शेर्मा दम्पतिसँगै उनीहरुका दुई छोरी १२ वर्षीया युहाना शेर्मा र १० वर्षीया मुना शेर्मा तथा धनराजका भाइकी छोरी ८ वर्षीया इक्सा शेर्माको बीभत्स हत्या भएको थियो । धनराजका ससुरा ७४ वर्षीय बमबहादुर फियाक, सासू ७५ वर्षीया फुर्चिमाया फियाक, उनकी कान्छी साली २६ वर्षीया मनकुमारी फियाक (माखिम) र साइली, सालीकी छोरी १० वर्षीया आशिका खजुमको हत्या भएको थियो ।

हत्यामा शेर्माका कान्छा साढुभाइ मानबहादुर माखिमको संलग्नता देखिएको प्रहरीको भनाइ छ । सामूहिक हत्यापछि मानबहादुरले समेत झुण्डिएर आत्महत्या गरेका थिए । प्रहरीले स्थलगत रुपमा हत्याको विस्तृत अनुसन्धान सम्पन्न गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत अनुसन्धानमा खटिएको थियो । रासस
 

प्रतिक्रिया दिनुहोस