मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न पहल

विहीबार, ०२ जेठ २०७६, ११ : ३०
मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न पहल

चितवन । पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरोन्नति गर्न पहल गरिएको छ । भरतपुरको चौबिसकोठीबाट २४ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल क्षेत्रमा १० होटल र १० होमस्टे (घरबास) रहेका छन् ।
 
सो विमानस्थलसमेत हेर्दै आउनुभएका नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार सरोकारवाला निकायले मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो देखाएका छन् । गौतमले मेघौली विमानस्थलको धावनमार्ग एक हजार ५०० मिटर लम्बाइ बनाउन सकिने बताउनुभयो । हाल सो विमानस्थलको लम्बाइ एक हजार मिटर छ । नजिकै २०० मिटर क्षेत्रमा सुकुम्वासीले बसोबास गरेका छन् । 

उनीहरुलाई विकल्प दिएर विस्तार गर्दा धावनमार्गलाई ५०० मिटर थप गर्न सकिने छ । विमानस्थल क्षेत्र २३ बिघामा फैलिएको छ । धावनमार्ग घाँसेमैदान रहेको छ । भरतपुर विमानस्थलमा धावनमार्गका कारण साना जहाज मात्र उडान हुँदै आएको छ । गौतमले मेघौली विमानस्थललाई स्तरोन्नति गर्न सके ७२ सिटे जहाज अवतरण गर्न सकिने बताउनुभयो ।

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले मेघौली क्षेत्रमा रहेका १० होटलमा ३५५ जनाको क्षमता र १० होमस्टेमा ८० जनाको क्षमता रहेको बताउनुभयो । त्यहाँ आउने पर्यटक र स्थानीयवासीलाई लक्षित गरी पर्यटकीय विमानस्थलको रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ छ ।
 
विसं २०१६ मा स्थापना भई विसं २०६९ सम्म नियमित उडान हुँदै आएको सो विमानस्थलमा हाल आंशिकरूपमा चार्टरबाहेक अन्य उडान हुनसकेको छैन । गएको सङ्घ र प्रदेशको निर्वाचनको समयमा एक महीना नेपाल एयरलाइन्सले जहाज उडाएको भए पनि त्यसयता निरन्तरता पाउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जभित्रको होटल टाइगरटप्स खुलेसँगै शुरु भएको यस विमानस्थल होटल बन्द भएसँगै बन्द हुनपुगेको हो । पर्यटक भित्र्याउनका लागि विमानस्थल शुरु भएको थियो ।
 
बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले विमानस्थल स्तरोन्नति गरेमा आफ्ना एयरलाइन्सका ठूला जहाज सञ्चालनमा ल्याउन सकिने बताउनुभयो । पर्यटकीय विमानस्थलका रूपमा यो विमानस्थललाई विकास गर्नुपर्ने उहाँको भनाइ छ ।
 
भरतपुरमा विमान अवतरणका क्रममा समस्या देखिएमा मेघौलीमा आकस्मिक अवतरण गराउन सकिने देखिएको छ । विमानस्थलको बुधबार अवलोकनपश्चात प्रदेशसभा सदस्य कृष्ण भुर्तेलले दुई विमानस्थल रहेको एकमात्र स्थानीय निकायका रुपमा चित्रित भरतपुर महानगरका दुईमध्ये भरतपुरलाई आन्तरिक र मेघौलीलाई पर्यटकीय विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उक्त विमानस्थलको स्तरोन्नतिका लागि प्रदेशसभा र प्रदेश सरकारमार्फत आवश्यक पहल गर्ने उहाँको भनाइ थियो । 

भरतपुर महानगरका प्रमुख रेनु दाहालले मेघौली विमानस्थललाई यथास्थितिमा निरन्तरताभन्दा पनि अत्याधुनिक र विकसित स्वरुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मेघौलीलाई चितवनको मुख्य विमानस्थल बनाउने कुरामा दुईमत छैन, हामीले यसको पहलकदमी लिनुपर्छ ।” उहाँले रात्रिकालीन उडानसमेत गर्नसक्ने गरी स्तरोन्नति गर्न सबैले पहल थाल्नुपर्ने बताउनुभयो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस