गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा

आइतबार, ०८ बैशाख २०७६, १६ : ०३
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा

चितवन । रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् ।

रङ्गशाला निर्माण गर्दै गरेको सीताराम कट्टृेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलका अनुसार रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घर लगायतका आवश्यक संरचना निर्माण भइसकेको छ । हालसम्म करीब रु ८० लाखको काम सम्पन्न भएको उहाँले बताउनुभयो । 

यसै सातादेखि खेलमैदानको भुइँको काम थालिने छ । अन्तर्राष्ट्रियस्तरको र पूर्वअभ्यासका लागि एउटा/एउटा खेल मैदान निर्माण गरिने कट्टेलले बताउनुभयो । गुरुयोजना तयार गरी नक्साङ्कनको काम तीव्र गतिमा अघि बढाइएको उहाँले बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अघि बढाइएको छ । 

क्रिकेट बाहेक अन्य खेलको विस्तृत अध्ययन प्रतिवेदन पनि अन्तिम चरणमा पुगेको छ भने क्रिकेटको प्रतिवेदन निर्माणको काम भइरहेको कट्टेलले बताउनुभयो । कट्टेलेलका अनुसार आउँदो ३० वर्षपछि हुने प्रविधि अहिलेनै प्रयोग गरेर नक्साङ्कनको काम भइरहेको छ । यसका लागि नेपालीसँगै विदेशी विज्ञले पनि काम गरिरहेका छन् ।

 जेठ महीनासम्ममा रु ५० करोड सङ्कलन गरी आवश्यक सामग्री जम्मा गर्ने तयारी भइरहेको छ । हालसम्म रु ६ करोड सङ्कलन भएको फाउण्डेसनले जनाएको छ । कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु हुने क्रममा रहेको बताउँदै कतिपय जिल्लामा सहयोग समिति बनेर रकम सङ्कलन हुन थालेको बताउनुभयो ।

सबै जिल्लामा समिति निर्माण गरी रङ्गशालाको अपनत्व लिने गरी आर्थिक सहयोग अभियानलाई तीव्रता दिइने उहाँले बताउनुभयो । अर्थ सङ्कलनका लागि यही वैशाख १३ गते फाउण्डेसनको टोली दुबई जाँदै छ भने त्यस लगत्तै जापान, अष्ट्रेलिया, युरोप र अमेरिका जाने कार्यक्रम रहेको छ ।  फाउण्डेसनको खातामा पहिले जम्मा भएको रु दुई करोड नौ लाखबाट कामको भुक्तानी भइरहेको उहाँले बताउनुभयो ।

बहुउपयोगी रङ्गशाला निर्माणमा रु तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । त्रिभुवन विश्वविद्यालयको नाममा रामपुरमा रहेको २० बिघा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशालालाई खेलकूद एकेडेमीका रूपमा विकास गर्ने तयारी गरिएको छ ।  

यसैबीच रङ्गशाला निर्माणका लागि यहाँको हानामी एजुकेशनल इन्टरनेसनल प्रालिले आज रु एक लाख ११,१११ फाउण्डेसनका अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस