पार्टी एकता टुट्दैन, फुट्दैन : प्रधानमन्त्री ओली

बुधबार, ०८ फागुन २०७५, २० : ३४
पार्टी एकता टुट्दैन, फुट्दैन : प्रधानमन्त्री ओली

धनगढी । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताउनुभएको छ ।

नेकपाद्वारा आज यहाँ आयोजित सुदूरपश्चिमस्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन कसैले भनेर फुट्नेवाला छैन भन्नुभयो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि पार्टीका दुई अध्यक्षको व्यवस्थाका सन्दर्भमा विपक्षीबाट हुने गरेको टिप्पणीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “दुई वटा शेर एउटै जङ्गलमा हुन सक्दैनन् भनेर विपक्षीले भन्छन् तर हामी मिलेर बसेका छौँ ।”

लामो बलिदानी र सङ्घर्षको सफलतापछि देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था प्राप्त भएर देश नयाँ विन्दुमा आइपुगेको उहाँले उल्लेख गर्नुभयो । सुविधा उपभोग गर्न सरकारमा नगएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘देश बनाउन, गरीबी हटाउन, देशलाई अल्पविकसित राष्ट्रबाट मुक्त पार्न, सबैलाई साक्षर बनाउने जस्ता काम गरेर परिवर्तन गर्ने अभियानमा छौँ ।”

प्रधानमन्त्रीले छाउपडीजस्ता कुप्रथा हटाउन जनजागरण अभियान चलाउन लागिएको बताउँदै पूर्व पश्चिम रेलमार्ग, मध्य पहाडी राजमार्ग, पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणमा प्राथमिकता दिएर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस