रास्वपा कार्यालय अगाडि जेन जेडको धर्ना र नाराबाजी

सफल खबर संवाददाता

मंगलबार, २६ जेठ २०८३, १४ : ५१
रास्वपा कार्यालय अगाडि जेन जेडको धर्ना र नाराबाजी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय, वनस्थली अगाडि जेन जेड समूहले धर्नासहित नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले सरकारसँग भएको १० बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने, आन्दोलनका क्रममा घाइते तथा शहीद भएका व्यक्तिहरूको उचित व्यवस्थापन सुनिश्चित गर्नुपर्ने र विभिन्न मुद्दामा फसाइएका जेन जेड समूहका सदस्यहरूलाई बिना सर्त रिहा गर्नुपर्ने माग अघि सारेका छन्।

आन्दोलनमा जेन जेड अभियन्ता, घाइते तथा शहीदका परिवारका सदस्यहरू समेत सहभागी रहेको अभियन्ता सरिस्मा थापाले जानकारी दिइन्। उनका अनुसार आन्दोलनका क्रममा पक्राउ परेर अझै पनि हिरासतमा रहेका व्यक्तिहरूलाई रिहा गर्नुपर्ने विषय प्रमुख माग हो।

थापाले सरकारसँग भएको १० बुँदे सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइने बताएकी छन्।

प्रतिक्रिया दिनुहोस