प्रहरीद्वारा अवैध सामान बरामद

सफल खबर संवाददाता

मंगलबार, २६ जेठ २०८३, ११ : ०४
प्रहरीद्वारा अवैध सामान बरामद

File Pic

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद गरेको छ ।

प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैध रुपमा भन्सार छली गरेको करिब रु चार लाख १० हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाएको निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए ।

प्रहरीले रोहिणी गाउँपालिका–६ विष्णुपुरा, कोटहीमाई गाउँपालिका–३, मर्यादपुरबाट गरी रु एक लाख ८३ हजार बराबरको बोइलर कुखुरा बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको उनले बताए ।

यस्तै जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट रु दुई लाख २६ हजार ४६० बराबरको साडी, ‘लेडिज सुट टप्स’, ‘लेगिज’, बेल्ट, बम्ब चकलेट, चियापत्ती, चकलेट, थानको कच्चा कपडा, ‘लेडिज स्याण्डल’सहित बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, बेलहिया पठाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस