काठमाडौं । काठमाडौंमा दुई दिनसम्म गुपचुप रूपमा अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलन सम्पन्न भएको छ । फिलिपिन्स कम्युनिष्ट पार्टीको आयोजनामा भएको उक्त छैटौं अन्तर्राष्ट्रिय सम्मेलन गौशालास्थित क्रिष्टल पशुपति होटलमा शुक्रबार र शनिबार सञ्चालन भएको हो ।
सम्मेलनमा नेपालसहित विभिन्न देशका क्रान्तिकारी कम्युनिष्ट पार्टीका करिब ४० प्रतिनिधिको सहभागिता रहेको स्रोतले जनाएको छ । कार्यक्रममा पाकिस्तान, अफगानिस्तान, केन्यालगायत करिब १० देशका कम्युनिष्ट तथा क्रान्तिकारी पार्टीका प्रतिनिधिहरू सहभागी भएका थिए ।
नेपालबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा), क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सहभागी भएका थिए । एमाले, जनमोर्चा, मशाललगायत अन्य कम्युनिष्ट पार्टी भने सम्मेलनमा सहभागी थिएनन् ।
सम्मेलनमा सहभागी नेपाली कम्युनिष्ट पार्टीमध्ये नेकपाबाट देव गुरुङ, क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट परि थापा तथा नेकपा (माओवादी)बाट नेत्रविक्रम चन्द ‘विप्लव’ स्वयं सहभागी भएर प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
सम्मेलनमा विश्व राजनीतिक परिस्थिति, साम्राज्यवाद, फासिवाद र नवउपनिवेशवादका नयाँ स्वरूपबारे केन्द्रित सैद्धान्तिक कार्यशाला सञ्चालन गरिएको सहभागीहरूले बताएका छन् । विभिन्न देशका क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको अवस्था, त्यहाँको राजनीतिक परिस्थिति तथा साम्राज्यवादविरुद्ध भइरहेका संघर्षबारे कार्यपत्र प्रस्तुत गर्दै छलफल गरिएको थियो ।
नेपालका तीनवटै कम्युनिष्ट पार्टीहरूले पनि आ–आफ्नो राजनीतिक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विशेषगरी युवा तथा विद्यार्थी नेताहरूको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।
फिलिपिन्स कम्युनिष्ट पार्टीले यस्तै प्रकृतिका अन्तर्राष्ट्रिय सम्मेलन यसअघि अन्य देशहरूमा पनि आयोजना गर्दै आएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० जेठ २०८३, ११ : ०१
लेखकबाट थप