भरतपुर महानगरको राजस्व संकलनमा यसरी भयो वृद्धि

मंगलबार, १३ कार्तिक २०७५, १५ : ३८
भरतपुर महानगरको राजस्व संकलनमा यसरी भयो वृद्धि

भरतपुर  । भरतपुर महानगरपालिकाले राजस्व संकलनमा वृद्धि गरेको छ । राजस्व उठ्ने क्षेत्रलाई फराकिलो बनाउँदै लगेपछि महानगरको राजश्व संकलनमा वृद्धि भएको हो । महानगरपालिकाले उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, विभिन्न संघसंस्थाहरुको सहयोगमा कर संकलनलाई तीव्र पारेपछि राजस्व संकलनमा भारी वृद्धि भएको हो । 
महानगर प्रमुख रेनु दाहालका अनुसार गत आर्थिक वर्ष कात्तिक महिनासम्म भरतपुर महानगरले छ करोड रुपैयाँ संकलन गरेको थियो । उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षको हालसम्म ९ करोड रुपैयाँ संकलन भइसकेको छ ।’ उहाँका अनुसार गत वर्षको तुलनामा ३ करोड राजश्व त यही वर्ष बढेको देखिन्छ । 
चालु आर्थिक वर्षदेखि क, ख, ग, घ र ङ श्रेणाीमा वर्गीकरण गरेर कर संकलन गरिरहेको महानगरपालिकाले जनाएको छ । गत वर्ष महानगरपालिकाले ४९ करोड ६० लाख रुपैँया राजश्व संकलन गरेको थियो । महानगरले चालु आर्थिक वर्षका लागि ५५ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । लक्ष्यमा पुग्न सकिने विश्वास महानगरपालिकाले गरेको छ ।
यही अनुपातमा राजश्व संकलनमा वृद्धि भयो भने लक्ष्यमा पुग्न सकिने महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । यस वर्षदेखि भरतपुर महानगरपालिकाले घर बहाल कर पनि उठाउने भएको छ । गत वर्ष भरतपुर महानगरपालिकाले घर बहाल कर उठाएको थिएन । यस वर्ष घरबहाल कर पनि उठाउने भएकाले अघिल्ला वर्षमा भन्दा यस वर्ष राजश्व संकलनमा वृद्धि हुने अनुमान महानगरले गरेको छ । 

भरतपुर महानगरले सम्पति कर, व्यवसाय दर्ता, घरबहाल कर र नक्सा दस्तुर, वैदेशिक शिफारिस, विज्ञापन र मनोरञ्जन करलगायतबाट  सवैभन्दा बढी राजश्व संकलन गरेको छ । कृषि प्रयोजनका लागि एक प्रतिशत, सम्पति करमा आवास प्रयोजनका लागि दुई, व्यापारिक प्रयोजनका लागि १० प्रतिशत कर लगाइएको छ । भरतपुर महानगरपालिकाले हरेक वडाबाट सवै प्रकारका कर संकलन गर्ने तयारी गरेको छ ।
महानगर प्रमुख दाहालका अनुसार निजी क्षेत्रसँग सहकार्य गरेर करदाताको क्षेत्र अझ फराकिलो बनाइनेछ । महानगरपालिकाले ९९ शीर्षकमा राजश्व संकलन गरिरहेको छ । निजी क्षेत्रसँग सहकार्य गरेर करदाताको क्षेत्र फराकिलो बनाइने महानगर प्रमुख दाहालले जानकारी दिनुभयो । करदाता शिक्षाको अभियान सञ्चालन गरिने महानगरले जानकारी दिएको छ । करको क्षेत्रलाई फराकिलो बनाउँदै सबै करदातालाई करको दायरामा ल्याउने तयारी महानगरपालिकाको रहेको छ । अहिले महानगरपालिकाका झन्डै १६ हजार नियमित करदाताहरु रहेका छन् । 
केही समयभित्रै महानगरका २९ वटै वडामा वेभ सेवा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ । हाल महानगरपालिकाको कार्यालयबाट मात्रै वेभ सेवा सञ्चालनमा रहेको छ । वेभ सेवा सञ्चालनमा ल्याएपछि भरतपुर महानगरमा भएका ३४ वटा काउन्टरबाट राजश्व संकलन गर्न मिल्ने महानगर प्रमुख दाहालले बताउनुभयो । वडाबाट कर संकलन भएपछि महानगरपालिकामा सेवा लिन आउने सेवाग्राहीको संख्या घट्नेछ । हाल महानगरका ८ वटा वडामा वेभ सेवा सञ्चालन भइसकेको छ ।
भरतपुर महानगरपालिकाले १०, २० र २५ नम्वरको वडा कार्यालयमा भुक्तानी केन्द्रको समेत स्थापना गरेको छ । वडाबाट कर संकलन हुन थालेपछि महानगरको राजश्व संकलनमा अझ वृद्धि हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस